बारीमै सड्न थाल्यो शैलुङका किसानले उत्पादन गरेको काउली

उचित मूल्य नपाउँदा शैलुङ क्षेत्र आसपासका किसानले उत्पादन गरेको काउली बारीमै सड्न थालेको छ। कृषक दावासङ्बु शेर्पाका अनुसार शैलुङमा काउली प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ।

रामेछाप– दोलखाको शैलुङ क्षेत्र आसपासका किसानले उत्पादन गरेको काउलीले बजार नपाउँदा किसानले लाखौँ रुपैयाँको क्षति बेहोर्नु परेको छ।

स्थानीय अगुवा कृषक दावासङ्बु शेर्पाका अनुसार अहिले शैलुङमा काउली प्रतिकेजी पाँच रुपैयाँमा पनि बिक्री हुन छाडेको छ। व्यापारीले काउलीको अधिकतम मूल्य प्रतिकिलो पाँच रुपैयाँ निर्धारण गरिदिएपछि किसानले बिक्री गर्न छाडिदिएका हुन्।

उचित मूल्य नपाएपछि किसानले काउली बिक्री नगरी त्यतिकै बारीमा छाडिदिएको उनले बताए। “पाँच रुपैयाँ किलोमा त बारीबाट उठाएर प्याक गर्ने खर्च पनि पुग्दैन, मल, बिउ तथा मिहिनेतको त कुरा कता हो कता, त्यसले किसानले काउली बारीमा नै छाडिदिएका छन्,” शेर्पाले भने।

शैलुङ क्षेत्रमा पर्ने रामेछापको डडुवा, दोरम्बा र गौश्वारका किसानले ठूलो परिमाणमा व्यावसायिक रूपमा काउली खेती गर्दै आएका छन्। त्यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका किसानले पनि काउली लगाएका छन्। दुवै जिल्लाका किसानको काउली अहिले बारीमै छाडिएको छ।

तिहार अघिसम्म प्रतिकिलो ५० रुपैयाँसम्ममा बिक्री भएको काउलीको भाउ स्वाट्टै घटको शेर्पाले बताए। भाउ नै नपाएपछि किसानले काउली सडाएर फाल्न बाध्य भएको उनको भनाइ छ। 

किसानले लगाएकोमध्ये २५ देखि ३० प्रतिशत काउली सडेर गएको उनले बताए। दुवै जिल्लाको उत्पादनलाई जोड्दा करिब एक करोड रुपैयाँ बराबरको काउली नास भएको शेर्पाको अनुमान छ।

सरकारले कृषि बजार सुनिश्चित नगरिदिँदा किसानले नोक्सान बेहोर्नु परेको उनले बताए। “न बजारको ग्यारेन्टी छ न प्रशोधन गर्ने कुनै उपकरण र सीप नै दिएको छ, किसानको लगानी त्यतिकै खेर गयो,” उनले भने। 

शैलुङ आसपासका किसानले केही वर्षयतादेखि साग, काउली, बन्दा, गाजर, मुला, केराउ लगायतको  व्यावसायिक रूपमा खेती लगाउँदै आएका छन्।