नेत्रहीन टी२० शृंखला : भारतमाथि नेपालको १० विकेटको जित

महिला नेत्रहीन टी२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली भारतलाई १० विकेटले पराजित गरेको छ।

काठमाडौँ– महिला नेत्रहीन टी२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली भारतलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले भारतलाई १० विकेटले पराजित गरेको हो।

जितसँगै ५ टी२० खेलको शृंखलामा नेपाल २–१ ले पछि रहेको छ। नेपाल पहिलो खेलमा भारतसँग ८ र दोस्रो खेलमा ४ रनले पराजित भएको थियो।

बुधबार नेपाललाई भारतले १७२ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा कुनै विकेट नगुमाई १७४ रन बनायो।

नेपालकी ओपनर तथा कप्तान बिनिता पुनले सर्वाधिक ७८ रन बनाइन्। उनले ६० बलमा ७ चौका प्रहार गरिन्। अर्की ओपनर मनकेशी चौधरीले ५७ बलमा ५ चौकासहित ७८ रन बनाइन्।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखानामा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

भारतकी ओपनर सिम्बु दासले अविजित रहँदै सर्वाधिक ८४ रन प्रहार गरिन्। उनले ६१ बल खेलेकी थिइन्।

सुनिता श्राथेले अविजित रहँदै २७ बलमा ३१ रन बनाइन्।

रावणी र सुस्मा पटेलले १४/१४ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

भारतका चार ब्याटर नै रन आउट भएका थिए। नेपालले २० रन अतिरिक्त दिएको थियो।