प्रजनन उमेरमा हुने महिनावारी प्राकृतिक प्रक्रिया भए पनि धर्म र परम्पराका नाममा ‘बार्नु पर्ने’ चलनले महिलामाथि विभेद र छुवाछुत हुने गरेको छ।
काठमाडौँ– कोटेश्वरकी सुष्मा खड्का (३२) पहिलोपटक महिनावारी हुँदा १५ वर्षकी थिइन्। त्यस यता १७ वर्षको अवधिमा महिनावारीका बेला उनलाई सामान्य र सहज कहिल्यै भएन। शारीरिक असहजता छँदैछ, सामाजिक मान्यताअनुसार ‘बार्नु पर्ने’ चलनले आफू मानिस नभई पशुजस्तो महसुस हुने उनी बताउँछिन्।
“पहिलोपटक महिनावारी हुँदा घाम हेर्न, पुरुषलाई छुन, भान्साघर र मन्दिरमा प्रवेश गर्न अनुमति थिएन। कतै पनि नछोइयोस् भनेर कोठाभित्रै बस्नुपर्थ्यो। चाडपर्वमा महिनावारी भयो भने मनाउनै दिइँदैन,” उनी भन्छिन्, “म ३२ वर्ष पुग्दा पनि महिनावारी बार्ने चलन उस्तै छ। कतै जान र छुन नदिँदा मलाई जनावरजस्तै महसुस हुन्छ।”
प्रत्येक महिना बेहोर्नुपर्ने यस्तो व्यवहार उनलाई चित्त बुझेको छैन। तर उनले महिनावारी बार्न छाडेकी पनि छैनन्। समाजमा चलिरहेको परम्परालाई बेवास्ता गरेर परिवार र समाजप्रति विद्रोह गर्ने शक्ति आफूमा नभएको उनको भनाइ छ।
भक्तपुर, बालकोटकी सुनिता घिमिरे (२४) को अनभुव पनि सुष्मासँग मिल्दोजुल्दो छ। महिनावारी भएको बेला कसैलाई नछोइ छुट्टै खान दिँदा उनलाई फिल्महरूमा देखाए जस्तै ‘जेलका कैदी’ को जस्तो महसुस हुन्छ। “कैदीको त केही दोषको कारण सजाय हुन्छ होला, तर मेरो के दोष!” उनी भन्छिन्, “प्राकृतिक प्रक्रियाको रूपमा रहेको महिनावारी हुँदा प्रत्येकपटक अनुभव गर्नु पर्ने कैदी जीवन असह्यै लाग्छ।”
उनको पहिलो महिनावारी १६ वर्षको उमेरमा भएको थियो। पहिलोपटक महिनावारीमा उनलाई छुट्टै बस्न, कसैलाई नछुन, पूजामा सरिक नहुन भनिएको थियो। खाना दिँदा पनि परबाट थाल हुत्याएर दिएको उनलाई सम्झना छ। अनौठो लाग्ने त्यस्ता व्यवहारले उनलाई पनि आफू मान्छे नै होइन कि भन्ने भान परेको थियो। अहिले पनि हरेकपटक महिनावारी हुँदा त्यस्तै महसुस हुने उनी बताउँछिन्।
पढ्नका लागि अहिले काठमाडौँ आएकी धनकुटाकी रमिला श्रेष्ठ (२३) छुट्टीमा घर जाँदा महिनावारी बार्छिन्। तर काठमाडौँ बस्दा खासै बार्नु नपर्ने उनको भनाइ छ। आफ्नो घरतिर बार्ने चलन भएका कारण आफू त्यसैमा बानी परेको र उता गएको बेला बार्ने उनले बताइन्। “पहिलेदेखि घरमा बार्ने चलन रहेको कारण चुपचाप तीन–चार दिन बारिदिन्छु। काठमाडौँमा बार्ने गरेकी छैन,” उनी भन्छिन्।
धादिङकी ममता धरेल (२२) लाई पनि पहिलोपटक महिनावारी हुँदाको नमीठो अनुभव छ। २०७२ सालको भूकम्पको त्रासदीमा उनी परिवारसँगै छाप्रोमा बसेकी थिइन्। त्यो विपत्तीमा पनि महिनावारी हुँदा परिवारको साथ नपाएको उनी बताउँछिन्।
त्योबेला उनलाई पहिलोपटक महिनावारी भएको थियो। “डर, त्रासको त्यस्तो अवस्थामा पनि दाइ र बुवालाई हेर्न हुँदैन भनेर नजिकै दिदीको घरमा बस्न पठाउनुभयो। पाँचौँ दिनमा मात्र घर फर्किएँ। फर्किएको दिन पनि मुख छोपेर घर गएको थिएँ,” उनी भन्छिन्।
धर्मसंस्कृतिसँग जोडेर विभेद
युनिभर्सिटी अफ लुइसभिलमा गरिएको एक अनुसन्धानअनुसार महिलाहरूले आफ्नो प्रजनन वर्षमा अनुभव गर्ने प्राकृतिक प्रक्रिया नै महिनावारी हो। चारदेखि सात दिनसम्म चल्ने महिनावारीलाई नेपाली समाजमा अझै पनि नकारात्मक दृष्टिले हेरिन्छ।
महिनावारीको समयमा महिला र बालिकामाथि लगाइने विभिन्न प्रतिबन्ध समाजमा कायमै छ। भान्साघर, मन्दिर, विद्यालय, धार्मिक र महत्त्वपूर्ण समारोहहरूमा प्रवेश अनुमति छैन। कतिपयलाई महिनावारी हुँदा राम्रो खाना र कपडा तथा चिकित्सा हेरचाहबाट पनि बञ्चित गरिन्छ। यस्तो विभेद प्रायः हिन्दू धर्मावलम्बीमा छ।
नेपालकै केही समुदायमा भने महिनावारी बार्ने चलन छैन। बौद्धकी शान्तिमाया थोकर (२६) लाई महिनावारी बारेको अनुभव छैन। उनी १४ वर्षको हुँदा पहिलोपटक महिनावारी भएको थियो। उनी भन्छन्, “हाम्रो धर्म/संस्कृतिमा बार्ने चलन छैन। परिवार वा आफन्तका कोहीले महिनावारी हुँदा बार्नुपर्छ भनेर सिकाएनन्। महिनावारीको चार दिन अरू दिन जस्तै बिताउँछु।”

गोर्खाकी चित्रा गुरुङ (३६)लाई महिनावारी हुँदा छुवाछुत भोग्नु परेको अनुभव छैन। महिनावारीको बेला पनि आफू स्वतन्त्र भएर काम गर्ने र मन लागेको ठाउँमा बिनारोकटोक जाने उनी बताउँछिन्। “गाउँमा महिनावारीको समयमा बार्नुपर्ने कुनै नियम थिएन। गाईभैँसी चराउन लैजाने, खाना पकाउने, भाँडा धुने, मन्दिर जाने जस्ता काम गर्थेँ। अहिले पनि त्यस्तै नै छ,” उनी भन्छिन्।
तर ठाउँअनुसार यो ‘चलन’ कति फरक छ र यसले महिलालाई कतिसम्म आक्रान्त पारेको छ भन्ने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा महिलाको ज्यानसमेत लिने कारक बनेको छाउगोठ प्रथाले देखाउँछ। छाउगोठ हटाउनुपर्छ भन्ने अभियान चल्न थालेको वर्षौं भइसके पनि त्यो अझैसम्म कुनै न कुनै रूपमा कायम छ। संघीय लोकतान्त्रिक गणतन्त्रका तीन तहका सरकार लागिपर्दा पनि यसलाई पूरै अन्त्य गर्न सकेका छैनन्।
मानवशास्त्री सुरेश ढकाल महिनावारीको कारण हुने विभेद ठाउँ, जात, धर्म र संस्कृतिअनुसार फरक हुने बताउँछन्। “महिनावारीलाई हेर्ने दृष्टिकोण संस्कृति र धार्मिक रूपले मात्र नभई पुस्ताका हिसाबले पनि फरक छ। महिनावारीको विभेद संस्कृति, धर्म, स्थान, जातजाति सापेक्ष छ,” उनी भन्छन्, “कुनै संस्कृतिले महिनावारीलाई अपवित्र, प्रदूषित, प्रदोष भन्छ भने, अर्को संस्कृतिले त्यसलाई विभेद र छुवाछुत गर्नुपर्ने विषय नै बनाउँदैन।”
महिनावारी हुँदा गरिने छुवाछुत र विभेदलाई न्यूनीकरण र उन्मूलन गर्न लामो समयदेखि काम गरिरहेको ‘ग्लोबल साउथ कोलिसन फर डिग्निफाइड मेन्स्टुरेसन’की संस्थापक, अधिवक्ता राधा पौडेल महिनावारीमा हुने छुवाछुत र विभेदलाई हटाउनुपर्ने बताउँछिन्। “महिनावारीसँग जोडिएका गलत अवधारणा, सोच र व्यवहारहरू छन्। तिनलाई सम्बोधन गरिएको छैन। हाम्रो नीति निर्माताहरूले धर्म, संस्कृति, संस्कार र प्रतिष्ठासँग जोडेर महिनावारीलाई हाउगुजी बनाएका छन्,” उनले भनिन्, “यस्ता गलत धारणा, गलत व्यवहार र कार्य बन्द गरेर महिनावारीलाई मर्यादिन नबनाएसम्म भेदभाव रहिरहन्छ।”
‘मर्यादित महिनावारी’ अभियान
ग्लोबल साउथ कोलिसन फर डिग्निफाइड मेन्स्टुरेसनका अनुसार मर्यादित महिनावारी भनेको मानव अधिकारको समग्र प्रवर्धन, यौन तथा प्रजनन स्वास्थ्यको सुधार र लैंगिक हिंसाको रोकथामका लागि महिनावारीका बेला हुने भेदभाव सम्बोधन गर्ने कार्य हो। यसमा समान व्यवहारको लक्ष्य राखिन्छ।
अंग्रेजी क्यालेन्डरअनुसार हरेक वर्ष डिसेम्बर महिनालाई मानवअधिकार सचेतना महिनाको रूपमा मनाइन्छ। त्यसैगरी, हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै विगत पाँच वर्षदेखि ‘मर्यादित महिनावारी दिवस’ पनि मनाउने गरिएको छ।
२०१९ डिसेम्बर ८ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसले विश्वव्यापी रूपमा मान्यता प्राप्त गरिसकेको छ। यसपटक पनि नेपालसहित विश्वका ६० भन्दा बढी देशले ‘लैंगिक हिंसा र बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने मूल नाराका साथ यो दिवस मनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
पुष्पा विष्ट
