सिम्रौनगढमा प्रहरीको गोली लागी घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ– बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लिएर झडप हुँदा प्रहरीले प्रहार गरेको रबरको गोली लागी घाइते भएका एक जनाको उपचाका क्रममा मृत्यु भएको छ।

सिम्रौनगढमा नगरपालिकामा लामो समयदेखि चलिरहेको विवादले बुधबार प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयले थप चर्किएर तनावको स्थिति सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास र रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई नगरप्रमुख किशोरीप्रसाद कलवारले हाजिर गराउन खोजेपछि आन्दोलित कर्मचारी र जनप्रतिनिधिबीच झडप भएको हो। बारा प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेका अनुसार झडपलाई नियन्त्रण लिन पुगेको प्रहरीमाथि पनि आक्रमण भएपछि भीडलाई तितरबितर बनाउन शुरूमा टियर ग्यास प्रहार गरिएको थियो।

टियर ग्यास प्रहारबाट पनि भीड नियन्त्रणमा नआएपछि प्रहरीले गोली प्रहार गरेको र सो क्रममा एक जना घाइते भएका थिए। घाइतेको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको उनले बताए। 

“प्रहरीमाथि पनि ढुंगामुडा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा ४५ राउन्ड टियर ग्यास प्रहार गरेको थियो। त्यसबाट पनि स्थिति नियन्त्रण नआएपछि हवाई फायर गर्दा एक जना घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको छ,” उनले भने।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ का लक्ष्मी मुखिया बिन रहेका छन्। एसपी काफ्लेका अनुसार सो घटनामा १० जना प्रहरी पनि घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले बताए। झडपका क्रममा प्रदर्शनकारीले बा.२झ ४३५४ नम्बरको सरकारी गाडीमा समेत तोडफोड गरेका छन्।