खोलामा फालिन्छ बुर्तिबाङको फोहोर

देशका १० नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारण फोहोर व्यवस्थापन पनि चुनौती बनेको छ।

ढोरपाटन– जथाभाबी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ–बोंगादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको डंगुरले भरिएको छ। दैनिक सयौँ यात्रु त्यही सडक हुँदै यात्रा गर्छन्। देशका १० नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारणले फोहोर पनि बढ्दै गएको छ। 

बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ। एक दशक अघि बुर्तिबाङ बजार सानो थियो। फोहोर पनि थोरै निस्कन्थ्यो। अहिले फोहोर व्यवस्थापनमा समस्या भएको छ। नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहोर फाल्दै आएको छ। 

बजारको फोहोर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहोर पुनः बजारसम्म पुर्‍याउँछ। फोहोरले तमानखोला प्रदूषित बनेको छ। तमानखोला भएर बगेको फोहोर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ। नमूना शहर भनिए पनि फोहोर व्यवस्थापनमा नगरपालिका र नयाँ शहर आयोजना चुकेको छ। फोहोर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन्। खोलामा बग्ने फोहोरका कारण जलचरलाई असर पुगेको छ। 

फोहोरकै कारण बडिगाड खोलामा माछा पाइन छाडेको जलारी बताउँछन्। हाल फोहोर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ। बुर्तिबाङ बजारको फोहोर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ। कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फालिँदै आइएको छ। 

खोला छेउमा फोहोर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए। बजारबाटै गाडीले फोहोर सडक भरी खसाल्दै ल्याउने र जथाभाबी फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ। वर्षौंदेखि बजारको फोहोर व्यवस्थापनमा नयाँ शहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन्। हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहोरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ।

बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ। जनघनत्व बढ्दै गएको छ। तर, बजारको फोहोर व्यवस्थापन भने हुन सकेको छैन। सबै फोहोर खोलाले बगाएर जताततै पुर्‍याउँछ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहोर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको  बताए। आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ।