रास्वपाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने– हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौँ

ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने मागसहित रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउन प्रयत्नशील रहेको बताएका छन्। 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। 

रास्वपाले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत विश्वासको वातावरण सिर्जना गरिने बताए। 

‘‘मैले युरोपेली युनियनका प्रतिनिधिसँग पनि यस विषयमा कुराकानी गरेको छु। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटक पटक छलफल गरेको छु,” उनले भने, “हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ। यसले अन्तर्राष्ट्रिय जगत्‌मा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’’ 

यसपटक हवाई सुरक्षामा केही सुधार भए पनि कालोसूचीबाट नहटेको उनको भनाइ छ। “‘तर हाम्रो सुधार पर्याप्त भएन। थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ। तपाईंहरूले दिएका सुझाव महत्त्वपूर्ण छन्। नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ।’’