फिलिपिन्सले गर्‍यो १८० चिनियाँलाई देश निकाला

ती चिनियाँ नागरिकसँग ‘वर्क परमिट’ नभएको तथा अनलाइनबाट अवैध कारोबार गरेको पाइएपछि देश निकाला गरिएको फिलिपिन्सले जनाएको छ। 

तस्वीर: एएफपी

फिलिपिन्सले राजधानी मनिलामा यौन अपराध र अनलाइनबाट अवैध कारोबार गरेको आशंकामा छापा मारेर पक्राउ परेका १८० चिनियाँलाई देश निकाला गरेको छ। 

एक व्यवसायीक भवनमा गरिएको कारबाहीका क्रममा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो गरी करिब ६०० जना भेटिएका थिए। यस्तै, यौन खेलौना, एउटा मसाज पार्लर, सांगीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट फेला परेको थियो। ती व्यवसायीले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीले बताएका छन्। छापा मार्ने क्रममा धेरै महिलाको उद्धार गरिएको प्रहरीले बताएको छ।

राष्ट्रपतिको संगठित अपराधविरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले भने,  “चिनियाँ नागरिकसँग वर्क परमिट थिएन र उनीहरू अनलाइन घोटालामा संलग्न थिए। छापामा पक्राउ परेका थप विदेशीलाई आगामी सातामा देश निकाला गरिनेछ।”

एशिया–प्रशान्त क्षेत्रमा बढेको इन्टरनेट घोटालाबारे अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ। “यसमा प्राय तस्करीका पीडितलाई धोका दिइन्छ र फर्जी क्रिप्टो लगानीलाई बढवा दिनका लागि बाध्य पारिन्छ,” एएफपीले भनेको छ।

अमेरिकी विदेश मन्त्रालयले सन् २०२३ को मानव तस्करी प्रतिवेदनमा फिलिपिन्सले मुलुकभित्र हुने गरेको श्रम तस्करी वा अपराधको कडा अनुसन्धान नगरेको जनाएको छ। 

“भ्रष्टाचार र तस्करीको अपराधमा आधिकारिक संलग्नता महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ,” प्रतिवेदनमा भनिएको छ।