एमाले अध्यक्ष ओलीमाथि धनकुटामा हातपात प्रयास

पार्टीको अभियानका क्रममा धनकुटा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भएको छ।

तस्वीर : सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोबाट लिइएको स्क्रिन सर्ट।

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि एमालेको अभियानका क्रममा बिहीबार धनकुटामा आक्रमण प्रयास भएको हो।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा धनकुटामा ओलीसहितको टोलीलाई स्वागतका क्रममा एक जना व्यक्ति आक्रामक रूपमा अगाडि बढ्दै ओलीमाथि हात हाल्ने प्रयास गरेको देखिन्छ। लगत्तै ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनको आक्रमणलाई विफल बनाउँदै उनलाई नियन्त्रणमा लिन्छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाले ओलीमाथि हातपात गर्न खोज्ने महेश राई भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएको बताएको छ। धनकुटाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै भने, “महेश राई स्थानीय व्यक्ति हुन्। उनलाई नियन्त्रणमा लिइसकिएको छ।”

एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बिहीबार धनकुटा प्रवेश गरेको हो। एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट महाकाली–मेची यात्रा शुरू गरेको थियो। एमालेले मध्यपहाडी पुष्पलाल मार्गका जनतासँग जोडिने अभियानका रूपमा यो यात्रालाई अघि बढाएको छ। यो यात्रामा अध्यक्ष ओली शुरूदेखि नै जोडिरहेका छन्।