जतिसक्दो चाँडो सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : शेखर कोइराला

माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जति सक्दो चाँडो नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै चाँडोभन्दा चाँडो सरकार परिवर्तन गर्नुपर्ने बताएका हुन्।

सरकारले जनतामा आशा जगाउन नसकेको उनको टिप्पणी थियो। कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गरे। “सरकारसँग जनता निराश भएका छन्। जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,“ उनले भने, “जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ। अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन।”

नेता कोइरालाले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए। कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो। आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, “लोकतन्त्रमा अंकको खेल हुन्छ। हामीसित दलको नेता फेर्ने संख्या छैन।”

नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए। पहिचानवादीहरूसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए। ‘कोशी नामका विषयमा विवाद छ। त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,” उनले भने।

फरक प्रसङ्गमा उनले राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरणमा हुनै नसक्ने जिकिर गरे। “एनसेलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ,” कोइरालाले भने, “यति ठूलो घोटालामा राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन। कस–कसको संलग्नता छ भनेर बिस्तारै अनुसन्धानमा खुल्दै जाला।”