ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोटको प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संसारका सबै देशलाई सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ। 

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो।

ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओको दाबी छ। धूमपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन्। 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरे।

डब्ल्यूएचओका महानिर्देशकले भने, “यो सिफारिस सबै देशले स्वेच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा छ। फिलिप मोरिस इन्टरनेसनल र ब्रिटिश अमेरिकन टोब्बाको जस्ता केही प्रमुख चुरोट कम्पनीले भेपको माध्यमबाट सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिमा काम गरिरहेका छन्। यो खतरनाक छ।”