बाँकेमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवलदार गम्भीर

पूर्वपश्चिम राजमार्गस्थित कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका दुवै जनालाई बिहीबार राति जिपले ठक्कर दिएको थियो।

बाँके– बाँकेको कोहलपुरमा जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। 

पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे१च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा ‘ड्युटी’मा खटिएका प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो। 

जिपको ठक्करबाट प्रहरी सहायक हवलदार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गस्थित कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका दुवै जनालाई बिहीबार राति जिपले ठक्कर दिएको थियो। घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको डाँगीले बताए। वलीको घटनास्थलमै मृत्यु भएको हो। 

ठक्कर दिएर फरार जिपका चालक दाङको घोराही–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।