शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुँदैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने प्रस्तावमा बैठकमा छलफल हुने बताएका छन्।
काठमाडौँ– दुई साताअघि बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भनेका थिए, “यस्तो ठन्डी छ, देशभरिबाट मान्छे आउनुपर्ने हुन्छ। महासमिति बैठक पुसमा गर्न सकिँदैन होला, अलि पछि गरौँ।”
देउवाको प्रस्ताव भुईँमा नझर्दै उनीनिकट पदाधिकारीले महासमिति बैठक पुसमाभन्दा फागुनमा गर्नु उपयुक्त हुने थपेका थिए। तर महामन्त्री गगनकुमार थापाले भने पहिले नै मिति तोकेर एकपटक स्थगित गरिसकेको महासमिति बैठक फेरि स्थगित गर्दा गलत सन्देश जाने भन्दै तोकिएकै मितिमै गर्नुपर्ने अडान लिएका थिए। त्यसपछि सभापति देउवाले विषयलाई टुंग्याउँदै भनेका थिए, “भैगो! भैगो! पछि कुरा गरौँला।”
देउवाले त्यही विषयलाई फेरि छलफलमा ल्याएका छैनन्। तर उनीनिकट नेताहरूले भने महासमिति बैठक फागुनसम्म सर्ने बताउन थालिसकेका छन्। त्यही प्रस्ताव कांग्रेसको शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रवेश गर्दैछ।
महासमिति बैठक नसार्न नेता शेखर कोइराला समूहले सभापति देउवामाथि दबाब बढाएको छ। बुधबार कोइरालाले गुटको बैठक गरेरै महासमिति बैठक सार्नु नहुने अडान राखे। महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने तोकिएकै समयमा महासमिति बैठक गर्नुपर्ने बताउँदै आएका छन्।
थापा र शर्माले बिहीबार साँझ नक्सालमा तीन घण्टा सामूहिक छलफल गरेर महासमिति बैठकको प्रतिवेदनलाई अन्तिम रूप दिए। सभापति देउवाले बैठक सार्ने प्रस्ताव ल्याउन लागेको बैठकमा महामन्त्रीद्धयले भने बैठकका लागि प्रतिवेदनसमेत तयार भइसकेको विवरण प्रस्तुत गर्न लागेका हुन्।
“महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदन तयार भइसकेको छ। हलसमेत बुक भइसकेको छ,” थापानिकट एक केन्द्रीय सदस्यले भने, “अब उपसभापतिको प्रतिवेदन एउटा हो, नभए महासमितिको सबै तयारी भइसकेको छ। यस्तो अवस्थामा महासमिति बैठक सार्नुहुन्न भन्ने कुरालाई हामी बलियोसँग प्रस्तुत गर्छौँ।”
ती नेताले महामन्त्रीले प्रतिवेदनलाई शुक्रबारको बैठकमा नै प्रस्तुत गर्ने गरी तयारी गर्नुले पनि सभापति देउवालाई महासमिति बैठक नसार्न दबाब पुगेको बताए।
बुधबार बसेको कोइराला समूहको बैठकमा महासमिति बैठक सार्न नहुने विषयमा छलफल भएको थियो। बैठकपछि उपउपसभापति धनराज गुरुङले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताएका थिए। “महासमिति बैठक सार्नुपर्ने कुनै कारण नै छैन, सबै तयारी भइसकेको छ। पुसको जाडो भनेर बैठक सार्ने कुरा हुँदैन, किनभने हामीले पुसमा पार्टीको महाधिवेशन नै गरेर आइसकेका छौँ,” उनले भनेका थिए।
कांग्रेसको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली संरचना महासमिति हो। महासमिति बैठकले पार्टीको नेतृत्व चुन्नेबाहेक सबै निर्णय गर्न सक्छ। १४औँ महाधिवेशनताका कांग्रेसले ६ महिनाभित्र अलग्गै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर महाधिवेशन सकिएको दुई वर्ष बित्दासम्म पनि कांग्रेसले नीति महाधिवेशन गर्न सकेन। वार्षिक रूपमा गर्नुपर्ने महासमिति बैठकसमेत दुई वर्षसम्म भएन।
कांग्रेसले महासमिति बैठकमा नै नीतिबारे छलफलसमेत गर्ने योजना बनाएको छ। सभापति देउवा महासमिति बैठकमा आउने राजनीतिक प्रस्ताव र त्यसबाट आफूमाथि पर्ने दबाबबाट त्रसित छन्। छैटौँ पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका देउवालाई पार्टीको महासमिति बैठकमा आउने प्रस्ताव र निर्णयबाट माहौल बिग्रिएला भन्ने चिन्तासमेत छ।
अर्कोतिर, राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ मा हुँदैछ। जसकारण पनि देउवा महासमिति बैठकलाई थप दुई महिना पर धकेलेर सहज वातावरण बनाउन चाहन्छन्। तर महामन्त्रीद्धय थापा र शर्मासहित पदाधिकारी भने महासमिति बैठक स्थगित गर्दा पार्टीको सार्वजनिक छवि धुमिल हुने बताउँदै आएका छन्।
कांग्रेसले यसअघि मंसिर १३ देखि १५ गते सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो। तर त्यो मितिमा तयारी नपुगेको भन्दै मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो। पछि फेरि चाडपर्वका कारण भन्दै पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्ने गरी स्थगित गरिएको थियो।
“पहिल्यै दुई पटक स्थगित भइसकेको छ। अब देशभरिबाट महासमिति सदस्य चयन भएर काठमाडौँ आउने मानसिकता बनाइसकेको अवस्थामा फेरि महासमिति बैठक सार्ने कुरा हुँदैन, कम्तीमा म चाहिँ त्यस्तो प्रस्ताव लैजान सक्दिनँ,” महामन्त्री थापा भन्छन्, ‘सभापतिज्यूले त्यस्तो प्रस्ताव ल्याउनुभयो भने उहाँ आफैँ त्यसको जिम्मेवार र जबाफदेही रहनुहुन्छ।”
शुक्रबार बस्ने कार्यसम्पादन समितिको बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुँदैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने सुझाव आइरहेको विषयमाथि बैठकमा छलफल हुने बताए। “देशभरिबाट महासमिति सदस्यहरू आउनुपर्छ, पाको उमेर भएका नेताहरू नै महासमितिमा हुनुहुन्छ,” उनले भने, “त्यसकारण पुसको चिसोमा गर्नुभन्दा फागुनसम्म सार्दा राम्रै हुन्छ भन्ने लागेको छ। तर के हुन्छ ? बैठकबाटै निर्णय हुन्छ।” महासमिति बैठकमा करिब दुई हजार ५०० नेता कार्यकर्ता सहभागी हुनेछन्।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी र जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा छलफल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
