खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले घरबास सञ्चालनबारे तालिम लिएका छन्।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण छिन्। पाहुना आएपछि अन्य घरबास सञ्चालक महिलासमेत परम्परागत पहिरनमा सजिएर फूलमाला र अबिर लिएर सत्कारका लागि भेला हुन्छन्।
एकपटक घरबासमा पुगेका पाहुना थारु महिलाको सेवा, सत्कार गर्ने बानी देखेर पुनः फर्केर आउने गरेका छन्। वसन्तीले घरबास सञ्चालनका लागि तालिम लिएकी छन्। खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले घरबास सञ्चालनबारे तालिम लिएका छन्।
उनीहरू पाहुनालाई सत्कार गर्ने, पाहुनाको चाहनाअनुसार मौलिक परिकार बनाएर खुवाउने, परम्परागत गीत र नृत्य देखाउने गर्छन्। त्यो सबै कार्य तालिम लिएपछि सम्भव भएको सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर डगौराले बताए।
“धेरै पाहुना बाह्य जिल्लाबाट सामुदायिक घरबास तथा थारु संस्कृति हेर्नका लागि आउने गरेका छन्,” उनले भने, “थारु परिकारका पारखी पनि पुग्ने गर्छन्।” कोरोना महामारीअघि घरबासमा पाहुना खचाखच भरिने गरेका थिए। “महामारी फैलिएपछि घरबासमा पाहुना आएनन्,” पुरनले भने, “अहिले फाट्टफुट्ट आउन थालेका छन्। अझै पहिलेझेँ खचाखच पाहुना भरिने दिनको पर्खाइमा छौँ।”
उनका अनुसार घरबासमा आउने पाहुनालाई सामुदायिक भवनमा स्वागत गर्ने गरिएको छ। स्वागत कार्यक्रमपछि पाहुनालाई सञ्चालकले पालो मिलाएर घर–घरमा बस्ने व्यवस्था मिलाउने गरेका छन्। पाहुनाको चाहनाअनुसारका परिकार खुवाइसकेपछि परम्परागत नृत्य देखाउने गरिन्छ। पाहुनाबाट परिकारअनुसारको शुल्क लिइने गरिएको छ।
“पाहुनालाई थारु संस्कृति, रहनसहनबारे जानकारी दिनका लागि गाउँ डुलाउने व्यवस्था पनि गर्न थालेका छौँ,” घरबास सञ्चालक टीकुराम दहितले भने, “अग्रजबाट संस्कृतिबारे जानकारी दिन्छौँ। परम्परागत पहिरन, खानपान, रहनसहनबारे जानकारी दिन्छौँ। यस कार्यले थारु समुदायबारे सोध, अनुसन्धान गर्नेलाई सहयोग पुग्छ।”
गाउँ नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको खयरकन्द्रा तालको मनोरम दृश्य नियाल्नका लागि निकुञ्ज कार्यालयसँग समन्वय गरी घुमाउने प्रबन्धका लागि कार्य अगाडि बढाइएको छ। घरबास सञ्चालकले पहिला पाहुना भित्र्याएर महिनामा ३० हजारदेखि रु ५० हजारसम्म आम्दानी गर्दै आएका थिए।
“कोरोनाका कारण निकै घाटा बेहोर्नुपर्यो,” बडघर रामप्रसाद चौधरीले भने, “कोरोनापछि हाल वर्षमा ५० हजार रुपैयाँजति आम्दानी हुन थालेको छ। घरबास प्रवर्द्धनका लागि सरकारी निकायले अनुदानको व्यवस्थासँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ।” गतिलो सडक पूर्वाधार नहुँदा पर्यटकलाई यहाँसम्म पुग्न सकस हुने गरेको उनको भनाइ छ।
सामुदायिक घरबास सञ्चालक समितिका सचिव दानसिंह दहितका अनुसार हालसम्म घरबासको जग्गा खरिद र सामुदायिक भवन निर्माणका लागि वडा कार्यालयबाट दुई लाख, तारागाउँ विकास समितिबाट चार लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट १३ लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ३० लाख सहयोग प्राप्त भएको छ।
“जग्गा खरिद र भवन निर्माण पूरा भए पनि घेराबार, पर्खाल निर्माणका लागि रकम अभाव छ,” उनले भने, “परम्परागत नृत्य गर्ने महिलाका लुगा चाजाँपाजो मिलाउने कार्यसँगै फर्निचरको व्यवस्थापन गर्न आवश्यक रकमको अभाव छ।”
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घरबास सञ्चालनमा लागेकालाई सातदिने तालिम दिइएको नगर उपप्रमुख कल्पना पन्तले बताइन्। पर्यटन बोर्डसँगको लागत साझेदारीमा घरबास सञ्चालकलाई फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
