काठमाडौँ महानगरका कामले संघीय सरकारलाई पनि प्रेरणा मिलेको छ: प्रधानमन्त्री

शहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाइने बताएका छन्। 

२९औँ काठमाडौँ महानगर दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप अधिकारसम्पन्न तुल्याउन संघीय सरकारले काम गर्ने धारणा राखे। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानून निर्माण पहिलो प्राथमिकतामा रहेको उनको भनाइ ।

काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक शहरका रूपमा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताए। 

“लागुऔषध, सुर्ती चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसबाट सरकारलाई समेत उत्प्रेरणा मिलिरहेको छ,” उनले भने, “यसका निम्ति महानगर प्रमुख, उपप्रमुखलगायत सिंगो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपिल गर्छु।”

विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौँलाई खुला संग्रहालयका रूपमा विश्वमाझ चिनाएको उनको भनाइ छ। “आदिम वैभवको उचित संरक्षणले काठमाडौँको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्छ, अर्कोतर्फ पर्यटन प्रवर्द्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,” प्रधानमन्त्री दाहालले भने, “काठमाडौँको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्द्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हुनुपर्छ।”

राजधानी शहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उनको भनाइ छ। 

२०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो।