युक्रेनलाई आईएमएफको ९० करोड अमेरिकी डलर सहयोग

विस्तारित कोष सुविधाअन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्ने वित्तमन्त्री सेर्गी मार्चेन्कोले बताए।

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सहायता कार्यक्रमबाट ९० करोड अमेरिकी डलर प्राप्त गरेको छ। 

गत मार्चमा आईएमएफले युक्रेनको आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउन युक्रेनका लागि करिब १५ अर्ब ६० करोड डलर बराबरको ४८ महिनाको कार्यक्रम स्वीकृत गरेको थियो।

यस कार्यक्रमअन्तर्गत युक्रेनले यसअघि नै विश्व ऋणदाताबाट ४.५ अर्ब डलर लिइसकेको छ।

“विस्तारित कोष सुविधाअन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्नेछ,” युक्रेनी वित्तमन्त्री सेर्गी मार्चेन्कोले भने।

ईएफएफको कार्यक्रमले युरोपेली संघमा पूर्ण एकीकरणको बाटोमा युक्रेनी सरकारको आर्थिक कार्यक्रमको विकासको लागि एक ठोस आधार बनाउने मार्चेन्कोले बताए।