निजी क्षेत्रमार्फत सञ्चालनमा आयो चोभार सुख्खा बन्दरगाह

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए।

काठमाडौँ– चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न शुरू गरिएको छ। बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न थालिएको हो। 

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजीपार्क प्रालिबीच सम्झौता भएको थियो। 

सम्झौतामा समिति र प्रालिबीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा, बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुरूप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टीआरएस लोजीपार्कले लिएको छ। 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए। अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए। उनले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए। 

सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानी पनि बढ्ने उनको भनाइ छ। उनले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरूप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सेवा र आम्दानीको हिसाबले राम्रो परिणाम देखाएको बताए।

उनले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफूहरूको उद्देश्य रहे पनि काठमाडौँ–तराई/मधेश द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए। यद्यपि, आफूहरूले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिश गर्ने बताए।

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टीआरएस लोजीपार्क प्रालिले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रूपमा विकास गर्ने बताएको छ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रान्स नेपाल टीआरएस लोजीपार्क प्रालिका प्रतिनिधि अनन्त सिंहले आफूहरूले विराटनगर, काँकडभिट्टा, वीरगन्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए।

उनले चोभारलाई नमूनाका रूपमा विकास गर्ने उल्लेख गरे। उनले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।