एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

उदयपुर– कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार ९६७ जना वैदेशिक रोजगारीमा गएका छन्। त्यसैगरी सो आर्थिक वर्षमा ४६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ। “कुल भित्रिएको विप्रेषणमध्ये १४ प्रतिशतमात्रै बचत देखियो, १.७ प्रतिशत ऋण लगानी भएको छ”, उनले भने, “०.५ प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात् मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो।”

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनःएकीकरण (रेमी) परियोजनासमेत शुरू भएको छ। नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशको १० वटा स्थानीय तहमा शुरू भएको छ।

स्विजरल्याण्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’मार्फत शुरू भएको यो परियोजना उदयपुरको आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा शुरू भएको हो। नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताए।

“परियोजनाको शुरूआती चरण शुरू भएको छ”, नगरप्रमुख श्रेष्ठले भने, “वडा नं ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना शुरूआत गरेका छौँ।”

परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरू मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरूपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम शुरू भएको बताइन्। नगरपालिकाभित्र विप्रेषण भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भइ फर्किएकाहरू बस्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम शुरूआत गरेको हो।