अध्यागमन अधिकृतसँग 'सेटिङ' मिलाएर भिजिट भिसामा विदेश पठाउने २ जना पक्राउ

उनीहरूले अध्यागमन कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर ३०० जनालाई भिजिट भिसामा विदेश पठाएको प्रहरीले जनाएको छ।

काठमाडौँ– अध्यागमन कार्यालयका अधिकृतसँग 'सेटिङ' मिलाएर भिजिट भिसामा विदेश पठाउने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ घर भइ काठमाडौँ बौद्ध बस्दै आएका मनोज तामाङ (लामा) र रामेछापको दोरम्भा गाउँपालिका ७ घर भइ काठमाडाैँकै गोकर्णेश्वर बस्दै आएका पदम लामा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि गत बुधबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खडकालाई पक्राउ गरेको थियोअनुसन्धानका क्रममा खड्कासँग सेटिङ मिलाएर ३०० जनालाई भिजिटमा विदेश पठाएका निमा छिरिङ ट्राभल्सका सञ्चालक तामाङ र उक्त ट्राभल्समा काम गर्ने तामाङका सालो नाता पर्ने लामालाई प्रहरीले पक्राउ गरेको हो

प्रहरीका अनुसार उनीहरूले भिजिट भिसामा विदेश जान लागेकाहरूलाई नक्कली कागजात बनाएर अध्यागमन कार्यालयका कर्मचारीसँग 'सेटिङ' मिलाइ विदेश पठाउने गरेका थिए। यसरी विदेश पुगेपछि महिलाहरूलाई घरेलु कामदारको रूपमा लगाइने र शोषणसमेत हुने गरेको पाइएको छ। नरवीर खड्काले प्रतिव्यक्ति ४५ देखि ५० हजार रुपैयाँसम्म लिएर उडाउन मद्दत गर्ने गरेका प्रहरीले जनाएको छ।

लिखितसम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाहीको लागि उनीहरूलाई प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।