‘महिनावारी’ बिदा, युगिन कदम

जापान, इन्डोनेसिया, स्पेन, दक्षिण कोरिया, ताइवान, भियतनाम र जाम्बियामासमेत महिनावारीको समयमा महिलालाई निश्चित दिन बिदा उपलब्ध छ।

महिनावारी भन्नेबित्तिकै घिन मान्ने समाजमा हुर्क्यौं हामी, जबकि त्यही जैविक क्रिया मान्छे जन्मनका लागि कारण बन्छ। 'छुई, नछुने र पर सर्ने'जस्ता नाम महिनावारीसँग जोडिएबाटै हामी र हाम्रो समाज कति रुग्ण, अन्धविश्वासी, अवैज्ञानिक र असंवेदनशील छ भन्ने प्रस्ट हुन्छ। सामान्य जैविक मासिक क्रियालाई 'अपवित्र' भन्दै अहिले पनि धेरैजसो घरले स्त्रीमाथि बुझी नबुझी हिंसा गर्छ। धार्मिक स्थलमा महिनावारी भएका महिलालाई अझै स्विकारिँदैन। यो भयो सामाजिक विषय, जसविरुद्ध वैज्ञानिक शिक्षा र चेतनाको यो समाजलाई आवश्यक छ। 

अर्को, पहिले नै हेयभाव राखिने महिनावारीका शारीरिक र मानसिक कष्ट पनि उत्तिकै छन्। तर यो तथ्यलाई पुरुष प्राधान्य समाज अझै स्विकार्न तयार छैन। 

कमसेकम वयस्कहरूले मासिक  स्रावको सामान्य तथ्य थाहा पाएकै हुन्छन्। पाठेघरको भित्री तहमा रहेका कोशिकाहरूले प्रोस्टाग्ल्यान्डिन नामक रसायन निकाल्छन्, जसले पाठेघरका रक्तनली र मांसपेशी सङ्कुचित हुन्छन् र यसको नरम तहलाई बाहिर निकाल्छन्। महिलाको योनीबाट हुने यो मासिक रक्तस्राव नै महिनावारी हो, जसलाई हामी अनेक नामले बुझ्छौं। नयाँ पुस्ताले यसलाई 'मिन्स' या 'पिरियड' भन्न थालेको छ। 

महिनावारी प्रायः धेरै पीडादायी हुने भए तापनि सो दुखाइलाई परम्परागत रूपमा सामान्य ठान्दै खारेज गरिन्छ। महिलाहरूले योसँगै बाँच्न सिक्नु पर्छू भन्ने भाष्य व्याप्त छ। क्वार्ट्जमा सन् २०१८ मा प्रकाशित एक लेखमा युनिभर्सिटी कलेज लन्डनका प्रजनन स्वास्थ्य प्रोफेसर जोन गुइलबाउडलाई उद्धृत गर्दै भनिएको छ, "महिनावारी महिलालाई मात्र असर गर्ने अवस्था भएको हुनाले त्यसलाई ध्यान दिएर हेरिँदैन। पुरुषहरू रजस्वला नहुने भएङ्का कारण त्यसलाई चाहिने जति महत्त्व दिइएको छैन। जबकि अरू जनस्वास्थ्यसम्बन्धी क्रियाकलापझैँ रजस्वलालाई पनि ध्यान दिन जरुरी छ। एन्डोमेट्रिओसिस, फाइब्रोइड, डिम्बाशयको सिस्ट र महिनावारीपूर्व हुने दुखाइले विश्वको आधा जनसंख्यालाई असर गर्न सक्छ, तर कुनै पनि चिकित्सा सुविधाले महिनावारीलाई आफ्नो अध्ययनको विषय बनाउँदैन।"

महिनावारीमा हुने दुखाइ या असहजता (डिसमेनोरिया) लगभग ८० प्रतिशत महिलाको समस्या हो। किशोरावस्थादेखि रजोनिवृत्ति (महिनावारी सुक्ने समय)सम्म यस्तो दुखाइबाट किशोरी/महिला पीडित हुन्छन्। महिनावारीको पहिलो दिन सबैजसो महिलालाई असहज हुन्छ। पाँचदेखि १० प्रतिशत महिलाका लागि भने महिनावारीको दुखाइ अति कष्टकर हुन्छ। ४० प्रतिशत महिलामा महिनावारी दुख्ने समस्यासँगै पेट ढुस्सिने, फुल्ने, स्तनमा असहजता, एकाग्रता नहुने, झनक्क रिस उठ्ने, मुड परिवर्तन हुने, दिक्क लाग्ने र थकाई लाग्ने हुन्छ। (स्रोत: उमन्स् हेल्थ डटओआरजी)। माथि उल्लेख गरिएकाबाहेक अन्य समस्या पनि हुन्छन् महिनावारीमा। 

यस लेखमा म आफ्नो कुरा पनि गर्नेछु। रजस्वला हुनुअगावै थकान, पेट फुल्ने, ढाड दुख्ने र टाउको दुख्ने समस्या त छँदैछ, त्यसमाथि महिनावारीको समयमा अत्यधिक रक्तस्राव, ढाड दुखाइ र पेट दुखाइको पीडादायी क्षणको सामना म गर्छु। यसबाहेक मलाई मेनोरिया पनि छ। रजस्वलाका बेला लाग्ने पखालालाई मेनोरिया भनिन्छ, जुन मलाई सात दिनसम्म लाग्ने गर्छ। महिनामा नै करिब १० दिनजति महिनावारीसँग जुध्नुपर्दा म निराश पनि हुन्छु र ठान्छु म आफ्नै शरीरसँग लडिरहेको छु। 

माथि नै मैले उल्लेख गरें, महिनावारीताका हुने यस्तो पीडा धेरै महिलाको समस्या हो। मेरै वरपरका साथीहरूले पनि महिनावारीको पीडा कम गर्न तीन चार दिनसम्म मेफ्तल नामक पेनकिलरसँगै 'हटब्याग'को सहारा लिने गरेको देखेको छु। मेफ्तल खाएर कार्यस्थल आएका उनीहरू खुम्चिँदै निराश मुद्रामा काम गरिरहेका भेटिन्छन्। चिकित्सकहरू मिर्गाैलासम्बन्धी समस्या भएकालाई मेफ्तलको नियमित प्रयोग नगर्न सल्लाह दिन्छन्।

यसरी अशान्तपूर्ण अनुभवबीच कार्यस्थल मेरा लागि थप कष्टकर हुन्छ। आफू काम गर्ने क्षेत्रमा रजस्वलाका बेला कुनै आराम नमिल्दा भने महिला भएर जन्मेकोमा हीनताबोध समेत हुन्छ। पुरुषले जीवनको कुनै पनि खण्डमा यस्तो अनुभव गरेका हुँदैनन्, त्यसो हुँदा शायद कतिपयलाई मेरा यो सारा व्याख्या पनि बनावटी लाग्न सक्छ। तर म कसरी आफ्नो असहजता बताऊँ, रक्तस्रावका बेला कार्यस्थलमा हरेक आधी घण्टामा शौचालय जान नै असहज हुने गर्छ।

त्यसमाथि कतै कपडामा रगत लागेर कसैले देखिहाल्ने हो कि भन्ने कुराले थप तनाव हुने गर्छ। कार्यस्थलमा 'जेन्डर फ्रेन्ड्ली' शौचालय नहुने हो भने त प्याड वा ट्याम्पोन परिवर्तन गर्न असहज हुने भइहाल्यो। रगत बगिरहेका बेला काम गर्न यति असहज हुन्छ कि कसैले पेटभित्र बसेर मुक्का हानिरहेझैँ हुन्छ। रक्तस्राव चुहावटका कारण कतिपय अवस्थामा उइन्ड चिटर (पातलो ज्याकेट) कम्मरमा बाँधेर हिँडेको अनुभवसमेत छन् मसँग। उत्पादकत्व बढाउने अपेक्षासहित डिजाइन गरिएको कार्यालयभित्र नै महिलाले तनावग्रस्त अवस्थामा काम गर्नु साँच्चै चुनौतीपूर्ण हुन्छ। 

महिनावारीको पीडा १४ वर्षको उमेरदेखि सहँदै आएको छु, जतिखेर म स्कुल जान्थेँ। कहिलेसम्म  यो सकसपूर्ण अवस्थामा कसरी काम गर्नुपर्ने होला भनेर म आफैँसँग प्रश्न गर्छु। उतिखेर धेरै कुरा खुलेर राख्न सक्दैनथेँ, अहिले स्कुले किशोरीहरूका लागि किन संवेदनशील विद्यालय र सहयोगी शिक्षक आवश्यक पर्छन् भन्ने कुरा बुझ्न थालेको छु। त्यसबारे पनि विद्यालयहरूले प्रशस्त काम गर्नुपर्ने देख्छु। 

माथि उल्लेखित क्वार्ट्जमा प्रकाशित लेखमा गुइलबाउडलाई उद्धृत गर्दै भनिएको छ कि कतिपय महिलाले महिनावारीको दुखाइलाई हृदयघातजत्तिकै खराब भनी वर्णन गरेका छन्। उक्त उदाहरणले महिनावारीका बेला कार्यस्थलमा बिदा दिने कुरा औचित्यमाथि प्रकाश पार्छ र महिनावारीका चुनौतीलाई समायोजन गर्ने नीतिहरूको पुनर्मूल्यांकन आवश्यक रहेको ठहर गर्छ। उल्लेख्य छ, रक्तअल्पता, डिसमेनोरिया वा एन्डोमेट्रिओसिसजस्ता अवस्थाबाट पीडितलाई महिनावारीले अझ बढी असर गर्ने सम्भावना हुन्छ। 

भर्खरै लुम्बिनी प्रदेशले आफ्नो प्रदेशमा कार्यरत निजामती सेवाका महिला कर्मचारीका लागि महिनावारी बिदा दिने व्यवस्था गरेको छ। कति दिन बिदा पाउने भन्नेबारे नियमावलीमा तोकिने बताइएको छ। यो स्वागतयोग्य कदम हो। जापान, इन्डोनेसिया, स्पेन, दक्षिण कोरिया, ताइवान, भियतनाम र जाम्बियामा समेत महिनावारीको समयमा महिलालाई निश्चित दिन बिदा उपलब्ध छ। स्पेनमा महिनाको तीन दिन महिनावारी बिदा उपलब्ध छ, तर महिलाले धेरै पीडा महसुस गरेको अवस्थामा पाँच दिनसम्म बिदा बढाउन मिल्छ।

जाम्बियामा महिनाको एक दिन कुनै कारणबिनै महिला बिदा बस्न पाउँछन्। महिनावारीलाई लक्षित गरेरै सो व्यवस्था गरिएको हो। भियतनाममा महिलाहरूले महिनावारी बिदा नलिएको अवस्थामा रोजगारदाताले अतिरिक्त तिर्नुपर्ने व्यवस्था छ। कतिपय देशका निजी कम्पनीले समेत महिनावारीको असहजतालाई लिएर महिलालाई 'पेड् लिभ' उपलब्ध गराउने गरेका छन्।

रजस्वलाको समयमा बिदा मिलाउनु यसले ल्याउन सक्ने चुनौतीको समायोजन र व्यवस्था हो। धेरै महिला तथा केही ट्रान्सजेन्डर (पारलैंगिक) पुरुषलाई महिनावारीमा पेट दुखाइ, ढाड दुखाइ, टाउको दुखाइ, थकान, अत्यधिक रक्तस्राव र वाकवाकी सँगै धेरै शारीरिक असुविधासमेत आउँछ। 

यस किसिमको बिदाले यी समस्या राम्रोसँग व्यवस्थापन गर्न र कामको थप तनावबिना स्वास्थ्यको हेरचाह गर्न सहयोग पुर्‍याउँछ। महिनावारीबारे कुरा गर्नसमेत साह्रै असहज ठानिने समाजमा यस किसिमको बिदाले कार्यस्थल थप समावेशी बनाउन मद्दत गर्छ। महिलालाई काममा थप सहजता मिल्छ। फरक लिंगबीचको जैविक भिन्नता पहिचान र सम्मानमा यस्ता बिदाले योगदान गर्न सक्छ। कार्यस्थलमा लैंगिक समानतामा राम्रो योगदान गर्न सक्छ। यस किसिमका नीति प्रस्ताव गर्दा कर्मचारीमा कार्य सन्तुष्टि र कामप्रति वफादारी पनि बढ्ने देखिन्छ। 

यद्यपि, यस्ता नीतिलाई विचारपूर्वक लागू गर्न आवश्यक छ। बिदाकै कारण थप विभेद र लाञ्छना लाग्ने अवस्था सिर्जना गर्न दिनुहुँदैन। गर्नेलाई कारबाहीको भागीदार बनाउनुपर्छ। यस्ता बिदा ऐच्छिक र गोप्य हुनुपर्छ, जसले व्यक्तिलाई दबाब र असहज महसुस गर्न नपरोस्। लुम्बिनी प्रदेश सरकारको प्रयास स्तुत्य छ। अन्य सबै प्रदेश सरकार या संघीय सरकारले महिनावारी बिदाको नीति ल्याउनु आवश्यक छ। 


ढकाल वन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा काम गर्छिन्।