यू१९ एशिया कपको उपाधिका लागि यूएई र बंगलादेश भिड्ने

पाकिस्तानलाई ११ रनले पराजित गर्दै यूएई पहिलो पटक यू१९ एशिया कपको फाइनलमा पुगेको छ। बंगलादेश भने दोस्रो पटक फाइनलमा पुगेको हो।

काठमाडौँ– बलिया टिम पाकिस्तान र भारतलाई रोक्दै यूएई र बंगलादेश यू१९ एशिया कपको फाइनलमा पुगेका छन्। 

शुक्रबार भएको सेमिफाइनलमा यूएई पाकिस्तानलाई ११ रनले पराजित गर्दै पहिलो पटक यू१९ एशिया कपको फाइनलमा पुगेको हो।

आईसीसी एकेडेमी ओभलमा १९४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १८२ रनमा अलआउट भयो। पाकिस्तानका कप्तान साद बेगले ५२ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाए। आजन अवैसले ४१ तथा अमिर हसनले २७ रनको योगदान दिए। 

यूएईका हार्दिक पैइ र आमान अहमदले २–२ तथा ओमैद रहमान, ध्रुब परेशार र आमर बाद्मीले समान १–१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले ४७.५ ओभरमा १९३ रन बनाउँदै अलआउट भएको थियो। यूएईका कप्तान आयन खानले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५५ रन बनाए। एथान डी सोल्झाले ३७ र अर्यांश शर्माले ४६ रन बनाए। 

पाकिस्तानका उबेद शाहले ४ विकेट लिए। अरफत मिन्हास र अली असफन्दले समान २–२ विकेट लिए। 

शुक्रबार नै भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले हराउँदै उपाधि नजिक पुगेको छ।  सात पटकको एशिया कप विजेता भारतलाई हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो।

जितको लागि पाएको १८९ रनको लक्ष्य बंगलादेशले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। बंगलादेशको जितमा अरिफुल इस्लामले ९४ तथा अहरार अमिनले ४४ रनको योगदान दिए।

भारतका नवान तिवारीले ३ तथा राज लिम्बानीले २ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत ४२.४ ओभरमा १८८ रन बनाएर अलआउट भयो। भारतका मुशिर अहमदले सर्वाधिक ५० तथा  मुरुगन अभिषेक ६२ रन बनाए।