पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो।

काठमाडौँ– सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको मंसिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो। पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरूको समुचित मूल्यांकन नगरिएको सर्वोच्चको ठहर छ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुग्ने फैसला गरेको थियो। 

त्यसअघि नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएकाको थियो। नवलपुर जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै शाह उच्च अदालत पुगेका थिए।

उच्च अदालतले सफाइ दिएसँगै उनी जेलमुक्त हुने भएका थिए। उनले तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाएका थिए। नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो।