घुम्ती शिविरमार्फत घरदैलोमा गाउँपालिकाको सेवा

गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको स्थानीयवासी काजी तामाङले बताए।

भोजपुर– साल्पासिलिछो गाउँपालिकाले ‘बृहत् एकीकृत घुम्ती शिविर’ सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ।

भौगोलिक विकटताका कारण स्थानीयले भोगेका समस्यालाई मध्यनजर गर्दै शिविरमार्फत एकै स्थानबाट सेवा प्रदान गरेको हो। ‘घरदैलोमा स्थानीय सरकार’ अभियानअन्तर्गत पाँचवटा वडामा शिविर सञ्चालन गरेर सेवा प्रदान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए।

घुम्ती शिविरमार्फत वडा तथा पालिकास्तरीय योजना सम्झौता, मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा, कृषि तथा पशुपक्षीसम्बन्धी, पञ्जीकरणअन्तर्गत घटना दर्तासम्बन्धी र अभिमुखीकरण, अपांगता र ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा बैंकसम्बन्धी सेवासमेत प्रदान गरिएको उनले बताए। 

“हाम्रो गाउँपालिकाका कतिपय भूगोल अति नै विकट छन्,” अधिकारीले भने, “ विकटताका कारण नागरिकलाई सेवा लिन आउन निकै सास्ती हुने गरेको छ। स्थानीयलाई एउटा सानो काम गर्न आउँदा दुई दिनसम्म लाग्ने अवस्था छ,” उनले भने, “वडा नं १ र २ को कुलुङ, वडा नं ४ को खाटम्मा, वडा नं ६ को दोभाने र वडा नं ५ को रातमाटेबाट घुम्ती सेवा प्रदान गरिएको छ।”

गाउँपालिकाको सेवा शिविरमार्फत वडामा लिन पाउँदा समय र पैसाको बचत भएको स्थानीयवासी काजी तामाङले बताए। “हाम्रो ठाउँबाट गाउँपालिकाको केन्द्र पुग्न धेरै समय लाग्छ,” उनले भने, “चारदेखि पाँच हजार खर्च हुन्छ। पालिकाले घर पायकमा सेवा लिने वातावरण दिएको छ। यसले हामीलाई राहत मिलेको छ।” 

शिविरमार्फत वडामा सेवा पाउँदा खर्च र समयको बचत हुनाका साथै सहज भएको सालेवाका स्थानीयवासी लेखनाथ गिरीले बताए। शिविरले सानो कामको लागि दुईदेखि तीन दिनसम्म लगाएर पालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य गरिदिएको उनको भनाइ थियो। “सानो कामका लागि कष्टकर यात्रा गरेर पालिका पुग्नुपर्ने बाध्यता थियो,” उनले भने, “घरमा नै अपांगता परिचयपत्र पाएँ।”

शिविरमार्फत वडा नं १ मा दश, २ मा सात, ४ मा ११, ५ मा आठ र ६ मा १२ गरी ४८ योजनाको सम्झौतासँगै खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कृषि सेवाअन्तर्गत ४६० केजी तोरीको बीउ र ९० केजी सूर्यमुखीको बीउ वितरण गरिएको छ। 

पशु सेवाअन्तर्गत २४८ कृषकलाई पशुपक्षीसम्बन्धी उपचार र औषधि प्रदान गरिएको हो। महिला विकासअन्तर्गत ५९ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र र नौ जनालाई अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले जानकारी दिइन्। स्वास्थ्य सेवाअन्तर्गत वडा नं ४, ५ र ६ मा गरी १३९ लाई स्वास्थ्य जाँच, परामर्श र औषधि उपचार प्रदान गरिएको छ।

सेवा लिनका लागि धेरै खर्च र बढी समय लगाएर पालिकाको केन्द्रसम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्न शिविर सञ्चालन गरीएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए।