पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए।

गण्डकी– पर्यटन व्यवसायीले पोखरा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त रूपमा सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत भैरहवामा आयोजित कार्यक्रममा उनीहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चिन्ताको विषय भएको बताए।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकारले तदारुकता नदेखाए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए। अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उनको भनाइ छ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रूपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए। विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको उनको भनाइ थियो। 

उक्त अवसरमा होटल संघ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरेको थियो। अभियानअन्तर्गत विभिन्न पाँच प्याकेज सार्वजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

जसमा घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन्। होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यबीचका छन्।

‘आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो’ भन्ने मान्यताअनुरुप सञ्चालित अभियानमा भैरहवाका साथै नेपालगन्ज, धनगढी र महेन्द्रनगर पनि समेटिएको संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

संघका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने बताए। पोखराका एक हजार २०० होटलमा ४० हजार विस्तारा रहेको र १५ हजारले रोजगारी पाएको उनको भनाइ थियो।