एक दशक अघिसम्म गुल्जार रहेका गाउँबस्ती उराठलाग्दो बनेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन्, तर त्यसको उपभोग गर्ने मान्छे घटिरहेका छन्।
ढोरपाटन– खेतीयोग्य जमिन वनमाराले खेतबारी ढाकिएका छन्। वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ। गाउँमा बुढापाकाबाहेक कोही छैनन्।
युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन्। एक दशक अगाडिसम्म गुल्जार रहेका गाउँबस्ती उराठलाग्दो बनेका छन्। विद्यालयमा विद्यार्थी घटिरहेका छन्। सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन्। दिनप्रतिदिन बजार झर्नेको संख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताए।
सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ। जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने संख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ। गाउँमा बस्ने बुढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन्।
यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन्। बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने थापाले बताए। केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन्।
पाँच वर्ष पहिलेसम्म जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले सुनाए। “पहिले–पहिले मान्छेले गाउँ भरिन्थ्यो। एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे। गाउँमै खेतीपाती गर्ने, वनजंगलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो,” उनले भने, “अहिले गाउँ सुनसान छ। बुढाबुढी मात्रै छन्, बाँदर, बाघ र भालु आउने नै भए।”
जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी बेहोर्नुपरेको बताए। धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै संख्यामा मात्रै मान्छे रहेको उनको भनाइ छ। गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोखे।
“हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ। कुरुवा नबस्ने हो भने एक छिनमा सबै बाली नष्ट गरिदिन्छ। बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतंक निकै बढ्यो,” उनले भने, “मान्छेलाई समेत चिर्थोन आउने गरेको छ। शुरूशुरूमा बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे।”
बाँदर नियन्त्रणका लागि जंगलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए।
“बाँदर आतंक रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ। जंगलमा फलफूलको बिरुवा रोप्ने र बाँदर भुलाउने खालको योजना बनाएका छौँ,” उनले भने, “विज्ञसँग पनि छलफल गरिरहेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
