निर्वाचनले गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्‍याएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।

तस्वीर : रासस

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्‍याएको बताएका छन्।

निर्वाचन सम्पन्न भएपछि देउवाको तर्फबाट नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

“प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ। संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन्,” उनले भनेका छन्।

आमनिर्वाचनमा नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको उनको भनाइ छ। “आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु,” उनले भनेका छन्।

प्रधानमन्त्री देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन्।

उनले निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाय, निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।