नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकस्थित तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ७ गतेपछि (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सवारी बन्द गर्न लागिएको हो। 

फाइल तस्वीर

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ। सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो। 

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा तीन हप्ता  सवारी बन्द गरेर भित्तो काटिने छ। 

गत वर्ष पनि उक्त स्थानमा पुल निर्माणका लागि भित्तो काटिएको थियो। कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो। शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक बन्द गरेर काम गर्ने निर्णय गरेको हो।

सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ। बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ। “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ,”  उनले भने, “यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइनेछ।”

सो सडकका १९  पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। अन्य कतिपय निर्माण सम्पन्न भएका छन्। कतिपय अन्तिम चरणमा छन्। यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन।

उनका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्र सञ्चालनमा आउनेछन्। उनका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ। आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ। ती पुलको पहुँचमार्ग बनाउने र रङ रोगनलगायत काम भइरहेको छ।

गत मंसिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उनले जानकारी दिए। थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन्। आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ। यसपछि एउटा पुल मात्रै बाँकी रहनेछ।