पाँच महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

सरकारले मंसिर मसान्तसम्म आम्दानीभन्दा खर्च बढी गरेको देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार मंसिर मसान्तसम्म सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ।

चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख (वार्षिक लक्ष्यको २५.८७ प्रतिशत) रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च ३१.५३, पुँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ।

चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबरको बजेट ल्याइएकामा तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको वार्षिक बजेट रहेकामा ३६ अर्ब छ करोड तीन लाख बराबर मात्रै खर्च भएको छ। त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ लाख ३६ हजार बराबर वार्षिक विनियोजन रहेकामा हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख बराबर खर्च भएको छ।

सरकारको राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको देखिँदैन। चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म तीन खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख (२६.०७ प्रतिशत) मात्रै राजस्व संकलन भएको छ। सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा ६९ अर्ब सात करोड १५ लाख बढी खर्च भएको छ। अर्थात् पाँच महिनामा सरकारले ६९ अर्बभन्दा बढीको बजेट घाटा बेहोरेको छ।

सरकारले चालु आवमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर संकलन गर्ने उद्देश्य राखेको छ। त्यस्तै ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य छ।

चालु आर्थिक वर्षको शुरूआती पाँच महिनामा कर राजस्व संकलन वार्षिक लक्ष्यको २५. ८३ प्रतिशत अर्थात् तीन खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ। गैर कर राजस्व संकलन वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख बराबर छ। चालु आवको मंसिर मसान्तसम्ममा सरकारले दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिएको छ।