६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित : निर्वाचन आयोग

निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जनाएको छ।

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ६१ प्रतिशत मत खसेको तथ्यांक प्राप्त भएको बताए।

उनले केही स्थानको विवरण आउन बाँकी रहेकाले मत केही प्रतिशत बढ्न सक्ने पनि बताए। आइतबार बिहान ७ बजेदेखि बुलेकी ५ बजेसम्म मतदान भएको थियो। बिहानको स्थिति निराशाजनक रहे पनि दिउँसो केही उत्साहजनक रूपमा मत खसेको उनले बताए।

उनले सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको बताए। विवाद र झडपका कारण १५ वटा मतदानस्थलमा मतदान स्थगित उनको भनाइ छ। ती स्थानमा दुई/तीन दिनमै पुनः मतदान गरिने उनले बताए।