स्थगित यू१६ युथ लिग पुस दोस्रो हप्तादेखि शुरू हुने

स्थगित यू१६ युथ लिग पुसको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। ६ महिना सञ्चालन हुने भनिए पनि ५ खेलपश्चात साउन अन्तिमदेखि लिग रोकिएको थियो।

काठमाडौँ– स्थगित यू१६ युथ लिग पुसको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्लब र एन्फाबीच भएको बैठकले पुस ९ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको हो।

एन्फाका अनुसार पुस ९ गते मनाङ मनाङ मर्स्याङ्दी  र फ्रेन्ड्स क्लब भिड्ने छन्। खेल एन्फा कम्प्लेक्समा हुनेछ। युथ लिग ६ महिना सञ्चालन हुने भनिए पनि ५ खेल भएपश्चात साउन अन्तिमदेखि रोकिएको थियो।

लिगमा १० टोली सहभागी भए पनि नेपाल पुलिस, एपीएफ, खुमलटार एफसी र चर्च ब्वाइजले मात्रै समान पाँच खेल खेलेका छन्। मच्छिन्द्र, संकटा, आर्मी, फ्रेन्ड्स र मनाङ मर्स्याङ्दी क्लबले ४/४ खेल खेलेका छन्। न्युरोड टिम (एनआरटी)ले भने खेलाडीको उमेर विवादका कारण दुई खेल बहिस्कार गरेको थियो।

अंक तालिकामा मनाङ नवौँ स्थानमा रहेको छ। मनाङको ४ खेलमा १ जितसहित ३ अंक रहेको छ। यता, फ्रेन्ड्सको भने २ जितसहित ६ अंक रहेको छ। फ्रेन्ड्स पाँचौँ स्थानमा रहेको छ।

अंक तालिकामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ। पुलिसले ३ जित र २ बराबरीसँगै ११ अंक जोडेको छ। उसलाई ८ अंक जोडेको एपीएफले पछ्याइरहेको छ।