बाजुरामा दुई वटा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाने क्रममा एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेको र एउटा ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाजुरा– मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिए। 

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टि दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो।

लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ। 

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहरा बताए।

मृतकको सनाखत गरेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको प्रहरीले बताएको छ। दुई वटै ट्याक्टरमा चार/चार जना सवार रहेका थिए।