एस्टन भिल्लासँग ब्रेन्टफोर्ड पराजित, ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ तथा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।

एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराएको छ। आइतबार राति भएको खेलको पहिलो हाफमा ब्रेन्टफोर्डले ४५ औँ मिनेटमा केन लेविसद्वारा अग्रता लिएको थियो। ७१ औँ मिनेटमा बिन मीले फल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको ब्रेन्टफोर्ड दबाबमा आएको थियो।

७७ औँ मिनेटमा एलेक्स मोरेनोले गोल गर्दै एस्टनलाई बराबरीमा ल्याएका थिए। ८० औँ मिनेटमा ओले वाटकिन्सले गोल गरेपछि एस्टन भिल्लाले २–१ को अग्रता लिएको थियो। दोस्रो हाफको अतिरिक्त सातौँ मिनेटमा बुबाकर कमारा रातो कार्ड पाउँदै मैदान छाडेपछि एस्टन पनि १० खेलाडीमा झरेको थियो। त्यसपछि थप ६ मिनेटको खेल भए पनि कसैले गोल गर्न सकेनन्।

एस्टन १७ खेलबाट ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। ब्रेन्टफोर्ड १९ अंकसहित तालिकाको १२ औँ स्थानमाछ।

यस्तै आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको छ। योसँगै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको छ। आर्सनलको जितमा गाब्रियल जिसस र काइ हभार्ट्जले समान एक एक गोल गरे। 

खेलको ५३ औँ मिनेटमा जिससको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। खेल सकिन ३ मिनेट अघि हभार्ट्जले गोल गर्दै आर्सनलको जित निश्चित गरे। शीर्ष स्थानको आर्सनलले ३९ अंक बटुलेको छ। उसले दोस्रो स्थानको एस्टन भिल्लासँग एक अंकको अग्रता लिएको छ। ब्राइटन २६ अंकसहित तालिकाको नवौँ स्थानमा छ।