सार्वजनिक स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन्। 

मोरङ– विराटनगर महानगरका विभिन्न स्थानबाट १६ वटा मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन्। 

केही समययता विराटनगरका विभिन्न सार्वजनिक स्थलबाट मोटरसाइकल चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी तीव्र बनाएको थियो। त्यस क्रममा उनीहरू पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए। 

प्रहरीले अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री लगायतका बढी भिडभाड हुने स्थानहरूबाट हराएका १६ वटा मोटरसाइकलहरूको चोरीमा उनीहरूको संलग्नता रहेको जनाएको छ।

नोवेल अस्पतालबाट ५ वटा, सेन्ट्रल मलबाट ४, कोशी अस्पतालबाट १, गुद्री बजारबाट १, मालपोत कार्यालयबाट १, नापी कार्यालयबाट १ र विराट टिचिङ अस्पताल र अन्य क्षेत्रबाट चोरी भएकासहित गरी १६ वटा मोटरसाइकल चोरीमा उनीहरूको संलग्नता देखिएको जनाइएको छ।