काठमाडौँ–७ : प्रत्यक्षतर्फ दलभन्दा व्यक्ति रोजाइमा

काठमाडौँ क्षेत्र ७ का मतदाताले प्रत्यक्षतर्फ दलभन्दा व्यक्ति हेरेको र समानुपातिकमा मिश्रित किसिमले मत दिएको बताएका छन्।

तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र ७ का मतदाताले प्रत्यक्षतर्फ दलभन्दा व्यक्ति हेरेर मत दिएको जनाएका छन्। धेरैजसो मतदाताले प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा मिश्रित किसिमले मत दिएको बताएका छन्। 

स्वयम्भुस्थित श्रीसीता बालविकास आधारभूत विद्यालय मतदान केन्द्रबाट मत खसालेर निस्किएका अनिष तामाङले संसदीय निर्वाचनमा यसपालि पहिलोपटक मतदान गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नै उनी मतदाता भइसकेका थिए। रोजगारको लागि विदेशमा भएकाले २०७४ सालसम्म मतदान गर्नै पाएनन्।

तामाङले प्रत्यक्षतर्फ व्यक्ति हेरेर मत दिएको बताए। समानुपातिकमा भने दलीय आधारमा मत दिए। त्यहाँ भेटिएकी ७० वर्षिया सरस्वती पन्थीले नयाँ जोशजाँगर भएका युवालाई मत दिएको बताइन्।

त्यहीँ मतदान केन्द्रमा मत दिएकी सीता खतिवडाले स्थानीय तह निर्वाचनमा बालेन शाहलाई मत दिएको र उनले राम्रो गरेकाले यो निर्वाचनमा पनि युवालाई रोजेको बताइन्। उनले पनि व्यक्ति र दल मिलाएर मत दिइन्।

२०५१ सालमा भएको मध्यावधि निर्वाचन यता हरेकपटक मत दिएका ६० वर्षिय रुद्र पाठकले परिवर्तनको झिनो आशा मात्र बोकेको बताए। उनले प्रत्यक्षमा नयाँ उम्मेदवार र समानुपातिमा पुरानो दललाई मत दिएको बताए।

“विगतमा मत हालेकोभन्दा ‘फालेको’ जस्तो लाग्छ, यसपालि हालेको हो कि फालेको हो अहिले नै भन्न सकिदैन”, उनले भने, “मैले मत हालेको प्रतिनिधि यदि जितेका रहेछन् भने उनले कस्तो काम गर्छन् भन्ने कुराले यसलाई बताउँछ।” अनिच्छा हुँदाहुँदै पनि मत हालेको उनले प्रतिक्रिया दिए। 

८८ वर्षिय रत्नबहादुर थापा आफन्तको सहयोगमा मतदान गर्न आएका थिए। परिवर्तनको आशा राखेर मत खसाल्न आएको उनको भनाइ छ। उनले पनि नयाँ र पुराना दलहरूलाई रोजेको बताए।

६६ वर्षीय टंकप्रसाद उप्रेतीले आफूले यसअघि मतदान गर्दै आएको दललाई समानुपातिकमा मत दिए पनि प्रत्यक्षमा नयाँ पार्टी रोजेको बताए। आफ्ना दुई छोरा रोजगारीको लागि विदेशिनु परेको अवस्थाले पिरोलेको वनस्थली कि ५० वर्षिया लक्ष्मी दाहालले देशमै रोजगारीको वातारण निर्माण गर्न सक्ने आशा गरेर यसपटक उम्मेदवार रोजेको बताइन्। 

धेरैले देशभित्रै राजगारीको अवस्था नहुनुमा ठूला दल र पुराना नेतालाई जिम्मेवार ठानेका छन्। यसले गर्दा उनीहरूले नयाँ उम्मेदवार रोजेको देखियो। रानिवन मतदान केन्द्रका ३२ वर्षीय समीर कुँवरले भने मँहगी नियन्त्रणको आशा राखेर युवा प्रतिनिधि रोजेको बताए।