काठमाडाैँ उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन्द्र साह

उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।

काठमाडाैँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले उपत्यकाको विकास एकै पटक हुनुपर्ने बताएका छन्।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्ने बताए।

"काठमाडौँ उपत्यका बाहिरका मानिसहरूलाई काठमाडौँ उपत्यका एउटै हो जस्तो लाग्छ। ललितपुर आए पनि काठमाडौँ जस्तो लाग्छ, काठमाडौँ गए पनि ललितपुर जस्तो लाग्छ। त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकै पटक हुनुपर्छ। कोही पहिलो, दोस्रो, तेस्रो भन्दा पनि एकैपटक सबै पालिकाहरू अघि बढ्नुपर्छ," उनले भने।

उनले उपत्यकाको विकास एकैपटक गर्नका लागि संघीय र स्थानीय कानून बाझिएका कारण असहज भएको समेत बताए। उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह पनि गरे। 

प्रमुख शाहले काठमाडौँ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।