संसदीय समितिले ईयूको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउने योजनाबारे नेवानिसँग छलफल गर्ने

नेपाल वायुसेवा निगमले नेपालको हवाई उडानलाई ईयूको सुरक्षा सूचीबाट हटाउनेसम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने संसदीय समितिको निष्कर्ष छ।

काठमाडौँ– संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (ईयू)को हवाई सुरक्षा सूचीबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगम (नेवानि)सँग छलफल गर्ने भएको छ। 

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो।

निगम पदाधिकारीहरूले सोमबार समितिको बैठकमा गरेको प्रारम्भिक ‘बिफ्रिङ’ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गतेको बैठकमा बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए। 

“नेपाल एयरलाइन्सले त्यो सेफ्टी पार गरेको भए कम्तिमा यहाँका एयरलाइन्स त युरोप जान पाउँथ्यो नि,” उनले निगम प्राधिकारीहरूलाई निर्देशन दिए, “...पहिला यो विषयमा तपाईंहरू तयारीका साथ बुँदागत हिसाबमा आउनु पर्‍यो। अब पहिलेजस्तो कुरा धेरै गर्ने तर रिजल्ट नआउने अवस्था हुनुहुन्न। त्यसैले अब ५ गते ११ बजे डकुमेन्टसहित तपाईंहरूको फुल टिम आउनु होला।”

निगमले नेपालको हवाई उडानलाई ईयूको सुरक्षा सूचीबाट हटाउनेसम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ। उनले निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दोष लगाउनेभन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेस गर्नुपर्ने बताए।

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम एक्लैका कारण नेपालको हवाई उडान क्षेत्र यस वर्ष पनि ईयूको सुरक्षा सूचीमा राखिएको भन्ने कुरा साँचो नभएको जिकिर गरे। उनले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि ईयूले औँल्याएको उल्लेख गरे। नेपालको हवाई उडान ईयूको सुरक्षा सूचीमा पर्नुमा क्यानमाथि पनि प्रश्न औँल्याएको उनको टिप्पणी थियो।

ईयूको प्रतिवेदनमा औँल्याइएको विषयलाई हल गरेर नेपालको हवाई उडानलाई ईयूको सुरक्षा सूचीबाट हटाउन क्यानको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरूले मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।