पार्टीभित्रको पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता भयो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापा गुटको अन्त्य गर्ने भनिए तापनि पार्टीभित्रको विद्यमान पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता रहेको बताउँछन्।

दमौली– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले सोमबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विधानबमोजिम चल्नुपर्ने बताएका हुन्।

“विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ। दण्डको व्यवस्था भए मात्रै पार्टी विधानबमोजिम चल्न सक्छ। त्यसमा हामीले छलफल चलाइराखेका छौँ,” महामन्त्री थापाले भने।  

महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनुपर्ने बाध्यता रहेको बताए। “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनुपर्ने बाध्यता सबैलाई भयो। हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ,” उनले भने।

संसद्मा निर्वाचन कानूनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गरे। “यसो भए मात्रै एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्न पाउँदैन। त्यस्तो हुँदा कांग्रेस एमालेसँग डराउनु पर्दैन, एमाले कांग्रेस वा अरू पार्टीसँग डराउनु पर्दैन,” उनले भने। 

महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धतिसमेत परिवर्तन गर्न आवश्यक रहेको बताए। “अहिले जसरी टिकट बाँडिएको छ त्यो ठीक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडि बढाएका छौँ,” उनले भने।