नेपाल सुपर लिग: धनगढी शीर्ष स्थानमा यथावत्

साबिक विजेता काठमाडौँ रेजर्सलाई बराबरीमा रोक्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा यथावत् बसेको छ।

काठमाडौँ– साबिक विजेता काठमाडौँ रेजर्सलाई बराबरीमा रोक्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा यथावत् बसेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले काठमाडौँलाई १–१ गोलको बराबरीमा रोकेको हो।

योसँगै धनगढीले ६ खेलमा ३ जित र २ बराबरीसहित १२ अंक जोडेको छ। यता, काठमाडौँ भने चौथो स्थानमा यथावत् रहेको छ। काठमाडौँको समान खेलमा २ जित र २ बराबरीसहित ९ अंक रहेको छ। धनगढीलाई ११ अंकसहित पोखराले पछ्याइरहेको छ।

खेलको १५औँ मिनेटमा धनगढीले शुरूआती अग्रता लिएको थियो। आन्द्रेस नियाले गोलरक्षक एन्जल श्रेष्ठलाई हेडरमार्फत दिएको फितलो पासलाई कनेक्ट गर्दै अहमद हिजाजीले फ्लिक गोल गरे।

त्यसको एक मिनेटपछि काठमाडौँले खेलमा फर्किने अवसर गुमायो। सोखरुखको क्रसलाई धनगढीका देवेन्द्र तामाङले क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल माथिल्लो बारमा लागेर फर्किएको थियो। अनमार्कमा रहेका प्रशान्त अवस्तीले प्रहार गरे पनि आकासियो।

२०औँ मिनेटमा काठमाडौँका हिसुव थपलियाले रिचार्ड ओसी र आशिष चौधरीलाई बिट गर्दै गरेको प्रहार टिकेन्द्र थापाले बचाए। पहिलो हाफको थप गरिएको समयमा हिजाजीले प्रहार गरेको फितलो सट काठमाडौँका गोलरक्षक एन्जलले बचाए। योसँगै पहिलो हाफ १–० गोलमा सकियो।

५३औँ मिनेटमा काठमाडौँले खेलमा फर्किने अर्को अवसर गुमायो। सोखरुखले प्रहार गरेको बललाई टिकेन्द्रले पञ्च गर्दै बचाए। खेलको ६२औँ मिनेटमा आशिषले दिएको एअर बललाई नियन्त्रणमा लिँदै फोडे फोफनाले हेडर गरे पनि एन्जलले बचाए।

६६औँ मिनेटमा काठमाडौँ खेलमा फर्कियो। तोजिडिनोभ कोमिवनले प्रहार गरेको फ्रिकक बललाई किङ्ग्यु ओलिभरले हेडर गर्दै काठमाडौँलाई खेलमा फर्काए।

८०औँ मिनेटमा धनगढीका हिजाजीले अग्रता लिने मौका गुमाए। रामचन्द्र वाजीले दिएको बललाई अफसाइड बिट गर्दै गरेको प्रहार आकासियो।