नेपालसहित २२ राष्ट्रका सैनिकबीच अभ्यास ‘शान्ति प्रयास’ सञ्चालन हुने

शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करण सञ्चालन हुने भएको छ।

काठमाडौँ– नेपाली सेनाको आयोजनामा नेपालमा बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करण सञ्चालन हुने भएको छ। शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फागुन ८ देखि २१ गतेसम्म अभ्यास गर्न लागिएको नेपाली सेनाले जनाएको हो।

सेनाका अनुसार शान्ति प्रयासको चौथो संस्करणमा नेपालसहित २२ राष्ट्रका सैनिकहरूको सहभागिता रहने छन्। अभ्यासमा कर्मचारी प्रशिक्षण कार्यक्रम, फिल्ड प्रशिक्षण कार्यक्रम, चुनौती सामना र क्षमता अभिवृद्धि गरी तीन किसिमका गतिविधिहरू समावेश हुनेछन्। यस्तै सोही अवधिभित्रै शान्ति कार्यसम्बन्धी क्षेत्रीय प्रशिक्षण गोष्ठी पनि आयोजना हुनेछ।

अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसिएटिभ (जीपीओआई)को सहयोगमा सञ्चालन हुने अभ्यासको पूर्वतयारी स्वरूप गत मंसिर २५ देखि २९ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूका प्रतिनिधि सम्मिलित प्लानिङ कन्फिरेन्स सञ्चालन भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यसअघि सन् २००० मा नेपाल, बांग्लादेश, श्रीलंका र अमेरिकाका सैनिकहरू सम्मिलित भई नेपालमा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो। सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकहरू र सन् २०१७ मा २९ राष्ट्रका १ हजार १३५ सैनिकहरू सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भइसकेको छ।

यस्ता अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूबारे सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुका साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ।