प्रमुख निर्वाचन आयुक्त– ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्छौं

निर्वाचन आयोगले मतदान स्थगित भएका स्थानमा पुनः मतदान गराएर ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने बताएको छ।

तस्वीर : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले ८ दिनभित्र मतगणना सकेर मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको बताएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको बताएका हुन्।

"आजका मितिले ८ दिनभित्र मतपरिणाम दिने गरी सबै प्रक्रिया अगाडि बढाएका छौँ," उनले भने। उनले स्थगित भएका स्थानको निर्वाचन पनि सकेर ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी गरे।

आयोगका अनुसार सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको बताए। विवाद र झडपका कारण यी स्थानमा मतदान स्थगित उनको भनाइ छ।

उनले नवलपरासी, गुल्मीमा सोमबार र सुर्खेतमा मंगलबार निर्वाचन हुने बताए। बाजुरामा पनि अवस्था हेरेर छिट्टै निर्वाचन हुने उनको भनाइ छ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको मतलाई एकै पटक चार स्थानमा गणना गर्न निर्देशन दिएको उनले बताए। उनले प्रत्यक्ष र समानुपातिकको नतिजा सँगसँगै आउने गरी मतगणना कार्य गरिने बताए।

आयोगले जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम सात वटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्ने भएको छ। थपलियाले ती स्थानको मौसमले साथ दिए सोमबार अपराह्न ४ बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ढुवानी गर्ने योजना रहेको बताए।