भारतमा विपक्षी दलका ७८ सांसद निलम्बित

भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसद निलम्बित भएका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसद निलम्बित भएका हुन्।

तस्वीर : एएनआई

भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसद निलम्बित भएका छन्। ‘पटक–पटक संसद्को कारबाही अवरुद्ध पारेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार उनीहरूलाई निलम्बित गरिएको हो। 

भारतीय संसद्को तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसद निलम्बित भएका हुन्। भारतको संसदीय इतिहासमा सांसदको सबैभन्दा ठूलो निलम्बनका रूपमा यसलाई वर्णन गरिएको छ।

गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कारबाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो।

गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभामा प्रवेश गरी संघीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद्भित्रको सुरक्षाको विषय उठाउँदा पटक–पटक संसद् स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन्।

सोमबार निलम्बित विपक्षी सांसदले सांसदहरूको निलम्बन फुकुवा गर्न र गत हप्ता संसद्मा भएको सुरक्षा कमजोरीको विषयलाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहले वक्तव्य जारी गर्नुपर्ने माग गरेका थिए।

बीबीसी हिन्दीका अनुसार निलम्बित हुनेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी, तृणमल कांग्रेसका सौगता रोय, डीएमकेका टीआर बालु, दयानिधि मारनसहित ३३ लोकसभा सांसदहरू छन्।

राज्यसभामा जयराम रमेश, प्रमोद तिवारी, केसी वेणुगोपाल, इमरान प्रतापगढी, रणदीप सिंह सुरजेवाला, मोहम्मद नदीमुल हकलगायत ४५ सांसद छन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सांसदहरूको निलम्बनलाई लोकतन्त्रमाथि प्रहार भनेका छन्। “पहिला घुसपैठहरूले संसद्मा हमला गरे, अब मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गर्दै छ,” उनले भने।

सांसदहरूको निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो।