फाल्गुनन्द मार्ग ३ दशकदेखि अलपत्र

सडकको ३३ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का लागेको पाँच वर्ष बितेको छ। ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन।

फिक्कल– झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण शुरू भएको तीन दशक बित्यो। 

फाल्गुनन्द मार्ग निर्माणका लागि अरबौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ। आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन। रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चालनबाहेक केही प्रगति भएको छैन। दमकबाट घर्ती दोभानसम्म सोही खोलको ट्रयाकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो। सडकको ३३ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का लागेको पनि पाँच वर्ष बितिसक्यो। ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन। सडक चौडा गर्दै कालोपत्र गर्नुपर्नेमा त्यसो गरिएको छैन। 

तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो। दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले पाएको थियो। ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउनमा सम्झौता गरेको थियो। उक्त कम्पनीले २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर काम नगरेको हो। चारपटक म्याद थप भएको र अन्तिमपटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ।

राजमार्गको दोस्रो खण्ड १५ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो। दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय इन्जिनियर गौतमकुमार देवले जानकारी दिए। समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशत मात्र काम भएको उनको भनाइ छ।

घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड सवारी चल्न नसक्ने गरी बिग्रिएको भन्दै चाँडो मर्मत गर्न सरोकारवालाले निर्माण कम्पनीलाई ताकेता गरेका छन्। जिल्ला प्रशासन कार्यालय इलाममा भएको सर्वदलीय बैठकले चार बुँदे निर्णय गर्दै तोकिएको गुणस्तरमा आउँदो वर्षायाम अगाडि नै निर्माण सम्पन्न गर्न अनुरोध गरेको छ। बैठकले सडक निर्माणमा भएको प्रगतिको तत्काल अनुगमन गर्ने निर्णय पनि गरेको छ।

बैठकले घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड पुस १० भित्र मर्मत गर्न प्रशासनले निर्माण कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ। ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि माङसेबुङ गाउँपालिकाले तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय इलाममा समन्वय गराउन पत्राचार गरेको थियो। तीन महिनापछि प्रशासनले बोलाएको सर्वदलीय बैठकमा निर्माण कम्पनीका प्रतिनिधिमाथि सरोकारवालाले चर्को असन्तुष्टि र गुनासो राखेका थिए।

“ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको छ। त्यसको दोष भने हामी जनप्रतिनिधिले खेप्नु परिरहेको छ,” माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भने, “सडकको काम सहज बनाउन ढुंगा, गिट्टी, बालुवाको ठेक्कासमेत नलगाएर सहयोग गरेका छौँ। तर ठेकेदारले जिम्मेवार भएर काम गर्नुपर्‍यो।”

ठेकेदार कम्पनीबाट जनप्रतिनिधि र नागरिकलाई पटक–पटक ढाँट्ने काम भएको र अब पनि ढाँट्ने काम भए जनप्रतिनिधि नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिए। 

कोभिडको पहिलो र दोस्रो लहरका कारण समयमा काम गर्न नसकेको निर्माण कम्पनी प्रतिनिधिले बताएका छन्।