ललितपुर-३ : मतदाताले ‘नयाँ अनुहार’ खोज्दा ठूला दललाई चुनौती

प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नं. ३ का धेरै मतदाताले विगतको समीक्षा गरेर मतदान गरेको र यसपटक नयाँ दल तथा उम्मेदवार रोजेको बताएपछि ठूला दललाई जित्न मुस्किल देखिएको छ।

ललितपुर– प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नं. ३ का धेरै मतदाताले विगतको समीक्षा गरेर मतदान गरेको बताएका छन्। 

ललितपुर–३ का मतदातामध्ये धेरैजसो यसपटक नयाँ अनुहारप्रति आशावादी देखिएका छन्। ललितपुर–१३ कुसुन्तीका ४७ वर्षीय सोहन ढकालले नयाँ दल र उम्मेदवारप्रति युवाहरूमा उत्साह रहेको र आफूले पनि नयाँ अनुहार रोजेको प्रतिक्रिया दिए। मतदानमा ‘राइट टु रिजेक्ट’को व्यवस्था नभएकोले नयाँलाई मतदान गरेर पुरानालाई ‘रिजेक्ट’ गर्न चाहेको उनको भनाइ थियो। 

कुसुन्तीकै सुधा कार्कीलेपनि पुरानाप्रतिको भरोसा टुटेको बताइन्। उनले भनिन्, “पुरानो दल र तिनका उम्मेदवारप्रति भरोसा गुम्यो। एक पटक नयाँलाई हेरौ भन्ने लाग्यो।” 

धापाखेलमा मतदान गरेका १०१ वर्षीय श्रीप्रसाद थापालाई छोरा कार्लविक्रमले बोकेरै ल्याएका थिए। प्रजातन्त्र सेनानीसमेत रहेका थापाका छोराले भने, “यसपटक बुवाले लोकतन्त्र रक्षाको लागि मतदान गर्नुभयो।” 

सादोबाटो मतदान केन्द्रमा भेटिएका ५५ वर्षीय नारायण घिमिरेले महत्वकांक्षी चुनावी अजेन्डाभन्दा स्पष्ट दृष्टिकोण भएकोलाई आफूले रोजेको बताए। घिमिरेले भने, “मैले युवा उम्मेदवार र नयाँ दल रोजेँ।” सोही मतदान केन्द्रमा मत हालेर निस्किँदै गरेका राम कोइरालाले पनि आफूले नयाँ अनुहार रोजेको बताए। अघिल्लो पटक आफुले मतदान गरेको दलले चुनावमा गरेका वाचाहरू पूरा नगरेकोले यसपालि ‘फ्रेस’लाई जिताउन चाहेको उनको भनाइ थियो। 

७० वर्षीया सरला प्रधान मास्केले छोरा नातीको भविष्यको लागि पनि नयाँ उम्मेदवार रोजेको बताइन्। उनले भनिन्, “छोरा वा छोरी हुर्काउन कति गाह्रो हुन्छ, तर उनीहरू हुर्केपछि देशमा काम नपाएर विदेश जानुपर्छ। यो पीडादायी अवस्था अन्त्य हुन्छ कि भनेर मैले नयाँ रोजेँ। विदेश गएका छोरा वा छोरी बक्सामा बन्द भएर फर्किनु पर्दा एउटी आमाको मनमा कस्तो चोट पर्ला?”

अग्रज पुस्ताकी मास्केलाई मात्र होइन, नयाँ पुस्ताका रसिक रिमाललाई पनि युवा विदेशिनु पर्ने विषयले पिरोलेको छ। धापाखेल मतदान केन्द्रमा पहिलोपटक मताधिकार प्रयोग गरेका उनले यस्तो अवस्थाको अन्त्य गर्न आफूले मतदान गरेको बताए। 

पहिलो पटक मतदानको अनुभव गरेकी कुसुन्तीकी २० वर्षिया सम्पदा गुरागाईंले सक्षम र योग्य उम्मेदवारलाई मत दिएको बताइन्। शिक्षा, स्वास्थ्य, विकास र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिनेलाई आफूले रोजेको गुरागाईंको भनाइ थियो। 

धापाखेलमा भेटिएका शंकर विश्वकर्माले महँगी नियन्त्रण गर्न नसक्नु पुराना दलहरूको कमजोरी भएको बताए। युवाले केही गर्लान् कि भनेर तिनलाई नै रोजेको उनको भनाइ थियो।