एनसेल खरिदबिक्री स्वाभाविक छैन, यसमा सरकार गम्भीर छ: प्रधानमन्त्री

एनसेल प्रकरणमा कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समितिसमेत बनाएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री स्वाभाविक नभएको बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत शेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए।

“मैले दुबईमा नै यसबारे सुनेँ र भोलिपल्ट नै फर्किएँ। त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएँ। मुख्यसचिवलाई बोलाएर नीति नियम अनुसार निर्देशन दिन लगाएँ,” उनले भने, “सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु।”

आफूले यस विषयमा नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर पटक–पटक छलफल चलाएको प्रधानमन्त्री दाहालको भनाइ छ। “यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टंकमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ। हामीले कसैलाई ओभरल्याप गर्ने उद्देश्यले विल्कुल गरेको होइन,” उनले भने, “दूरसञ्चार प्राधिकरणको प्रतिनिधिसमेत बसेर यसरी जानु नै उचित हुन्छ भन्ने सोचे सम्झेको निष्कर्षमा पुगेपछि समिति बनाइएको हो।”

एनसेल प्रकरण सहज र स्वाभाविक नभएकै कारण निर्देशन जारी गर्नु परेको प्रधानमन्त्री दाहालले बताए। “यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो,” उनले भने। छानबिन गर्न गठित समितिले आइतबारदेखि काम शुरू गरिसकेको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए। 

“यसमा कानूनविपरित कहीँ कतैबाट कामकारबाही भए गरेको पाइए कानूनबमोजिम हदै सम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको सम्मानित समितिमा जानकारी गराउँछु,” उनले भने।