नेपाल सुपर लिग : इलामको सान्त्वना जित, प्लेअफ पुग्न ललितपुरलाई थपियो दबाब

स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग अन्त्य गरेको छ।

काठमाडौँ– नवप्रवेशी टोली स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्त्य गरेको छ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले यो सिजनको लिग अन्त्य गरेको हो।

इलामको जितमा फोडे कामराले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो। खेलको ५९औँ मिनेटमा ललितपुरका डिफेन्डर करिब ओमोलाजाले खुट्टाबाट बल खोस्दै उनले पेनाल्टी बक्सबाट सहजै गोल गरे।

यो जितसँगै इलामले ८ खेलबाट २ जित हात पारेको छ। २ बराबरी र ४ हारसहित इलाम ८ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ। यता, पराजित ललितपुरले प्लेअफमा स्थान बनाउन बाँकी एक खेलमा जित्नै पर्ने दबाब बढेको छ। ७ खेलबाट २ जित, ४ बराबरी र एक हारसहित १० अंक जोड्दै ललितपुर तेस्रो स्थानमा यथावत् रहेको छ।