नेप्सेमा उच्च अंकको वृद्धि, १० कम्पनीको कारोबारमा सकारात्मक सर्किट

नेप्से मंगलबार उच्च अंक बढेको छ। कारोबारमा आएकामध्ये विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले उकालो लागेको छ। 

नेप्से परिसूचक २१०० विन्दुभन्दा माथि पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.९८ विन्दुले उकालो लागेर २१०६ मा पुगेको हो।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०५ अंकले उकालो लागेर ३९७.६९ मा पुगेको छ। कुल एक करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ मा खरिद–बिक्री भएको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार २०२ रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस्तै सोल्टी होटलको २८ करोड ७३ लाख २४ हजार ३३१ रुपैयाँ, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख ४२ हजार ७५५ रुपैयाँ, हाथवे इन्भेस्टमेन्टको १४ करोड २९ लाख ३० हजार ५८८ रुपैयाँ र घोराही सिमेन्टको १३ करोड ३० लाख ८६ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार मंगलबार विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो ७.२६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना ४.९०, प्रभु बैंकको ऋणपत्र ३.८३, सानिमा बैंकको ऋणपत्र ३.७८ र पिपल्स पावरको लगानीकर्ताले ३.१९ प्रतिशतले गुमाएका छन्।