जो लंगुर बनेर मान्छेलाई मनोरञ्जन प्रदान गर्छन्, बन्यो डकुमेन्ट्री

कतिबेला मानिसको काँधमा चढेर जुम्रा टिपेको अभिनय गर्छन् त कतिबेला पर्खाल तथा रुखमा चढ्छन्।

मान्छेका रहर अनेक हुन्छन्। गुजरातका हितेश वादवाणीलाई भने लंगुर बन्ने रहर लाग्यो। 

अहिले उनी विवाह पार्टीमा होस् या सार्वजनिक कार्यक्रम, लंगुर बनेर मानिसहरूलाई मनोरञ्जन दिइरहेका छन्। 

लामो पुच्छर। अनुहार र हातखुट्टामा कालो रंग। अनुहारमा भुत्ला लगाएर उनी लंगुर जस्तै देखिन्छन्। अर्थात् भनौँ लंगुरको भेष धारण गरेका छन्। हातखुट्टा टेकेर हिँड्छन्। उनको हाउभाउ र चालढाल पनि उस्तै छ।

कतिबेला मानिसको काँधमा चढेर जुम्रा टिपेको अभिनय गर्छन् त कतिबेला पर्खाल तथा रुखमा चढ्छन्। पार्टीमा आएका मानिसहरूको छेउमा टुसुक्क बस्छन्, एकटकले हेर्छन्। आफ्नो छेउमा अचम्मको ‘प्राणी’ देखेर मानिसहरू एकछिन झस्किन्छन्। पार्टीमा मनोरञ्जनको लागि आयोजकहरूले उनलाई पैसा दिएर बोलाउने गरेका छन्। उनको माग बढीरहेको छ। हितेशले आफ्नो नाम ज्याकी राखेका छन्। इन्स्टाग्राममा उनको झन्डै ६ लाख जति फ्यानफ्लोअर्स छ। यतिमात्र होइन अहिले त उनीमाथि डकुमेन्ट्री पनि बनिसकेको छ। 

फोटोग्राफर तथा डकुमेन्ट्री निर्देशक हैदर खानले हितेशलाई मुम्बईमा अलपत्र परेको अवस्थामा भेटाएका थिए। कसैले कार्यक्रमको लागि भनेर मुम्बई बोलाएर उनलाई लिन नआएपछि अलपत्र परेका थिए हितेश। उनीसँग खान बस्नको लागि पैसा पनि थिएन्। लंगुरकै भेषमा सडकमा गइरहेका थिए, कुकुरले लखेट्न थाले। कारमा आइरहेका हैदरको ध्यान उनीमाथि पर्‍यो। उनले गाडी रोके र हितेशसँग कुराकानी गरे। त्यो रात आफ्नै घरमा राखे। अर्को दिन टिकट काटेर उनलाई घर पठाए।

हैदरलाई उनीमाथि डकुमेन्ट्री बनाउने मन लाग्यो। एक हप्तापछि उनी हितेशको गाउँ पुगे। त्यहाँ उनीमाथि गुजराती भाषामा डकुमेन्ट्री बन्यो, जसको नाम राखियो ‘लंगुर।’ जसलाई कोलाकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा गत हप्ता प्रदर्शन गरिएको छ।

हितेशको जीवन संघर्षपूर्ण रहेको छ। उनी सानै छँदा बुवाको देहान्त भएपछि उनकी आमाले अर्को बिहे गरिन्। उनी पनि आमासँगै गए। अलि ठूलो भएपछि तरकारी बेच्दै गुजारा गर्न थाले। उनी एक मन्दिरमा बस्न जान्थे। उतै सत्थे। त्यहाँ एक बाबा थिए। प्रायजसो एकोहोरो भइरहने हितेश मन्दिरमा आउने लंगुर तथा बाँदरसँग भने रमाउँथे। उनको उक्त स्वभाव देखेर मन्दिरका बाबाले पनि उनलाई बाँदरसँगै रमाएर जीवन बिताउन भन्थे। हितेशलाई पनि बाँदरको नक्कल गर्न र उनीहरूसँग समय बिताउनमा रमाइलो लाग्थ्यो। बिस्तारै उनी मन्दिरबाट बाहिर सडक तथा गाउँघरतिर पनि लंगुरको नक्कल गर्दै हिँड्न थाले। 

डकुमेन्ट्री टिमसँग हितेश

शुरूमा घरपरिवारका मान्छेले स्वीकारेनन्। उनको त्यस्तो क्रियाकलाप देखेर गाली गर्थे, रिसाउँथे। उनी कुनै पनि कार्यक्रममा सहभागी हुन्थे। त्यहाँ पनि कसैले गाली गर्थे, कसैले थप्पड मार्थे। अहिले भने हितेशको परिवारमा सबै खुशी छन्। 

“उनको सबैभन्दा ठूलो इच्छा आफ्ना आमाबुवाले स्वीकारुन् भन्ने थियो, अहिले स्वीकारिसकेका छन्, उनी निकै खुशी छन्,” निर्देशक हैदरले भनेका छन्।