मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।

सर्लाही– चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।

गत वर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँमध्ये हालसम्म प्रतिक्विन्टल २१ रुपैयाँ मात्रै भुक्तानी भएको र बाँकी प्रतिक्विन्टल ४९ रुपैयाँ अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ। 

साथै चालु यामका लागि उखुको मूल्यप्रति क्विन्टल ७५० रुपैयाँ कायम गराउनुपर्ने उनीहरूको भनाइ रहेको छ। मिल गेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए।

उनका अनुसार चालु यामका लागि उखुको मूल्य ७५० रुपैयाँ तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदानबापतको प्रतिक्विन्टल ७० रुपैयाँमध्ये हालसम्म पनि भुक्तानी हुन बाँकी रहेको प्रतिक्विन्टल ४९ रुपैयाँका दरले ५२ करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको  छ। 

नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चालु यामको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको  गुनासो गरे। उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताए।

उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रतिक्विन्टल ७५० हुनुपर्ने, गत वर्ष उखु बिक्री गरेको अनुदान बापतको बाँकी ५२ करोड रुपैयाँ राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरूको भनाइ छ।