दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

सीमित सवारी चल्ने हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगर बताउँछन्। डेढ दशकअघि सडक खुले पनि स्तरोन्नतिमा ध्यान नपुगेको उनको गुनासो छ।

बागलुङ– बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन्। कतिपय गाउँ सडकले डेढ दशक अगाडि नै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन्। कतिपय गाउँ भने जोडिने क्रममा छन्। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो। तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुन सकेको छैन। दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ। यहाँबाट पालिकाको केन्द्र गलकोट हटिया आउन दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम आइपुग्न गाडीमा पाँच घण्टा पूरा लाग्छ। 

पाण्डवखानीभन्दा १४ किलोमिटर पश्चिम पर्छ रमुवा गाउँ। गलकोट नगरपालिका–१० मै पर्ने रमुवा गाउँ मोटरबाटोले जोडिएको धेरै भएको छैन। रमुवाबाट पालिका केन्द्र करिब ३५ किलोमिटर पूर्व पर्छ। यहाँबाट पालिकाको केन्द्र हटिया आउन पाँच घण्टा लाग्छ भने जिल्ला सदरमुकाम पुग्न आठ घण्टा बढीको यात्रा गर्नुपर्छ। कच्ची र अव्यवस्थित सडकका कारण पाण्डवखानी र रमुवाका हजारौँ नागरिक कष्टकर यात्रा गर्न बाध्य छन्। 

वर्षौंदेखि हिँडेर पाण्डवखानीसम्म आई गाडीमा यात्रा गर्ने रमुवावासी अहिले गाउँमै गाडी गुड्न थालेपछि हर्षित छन्। डेढ दशकअगाडि नै मोटरबाटोले जोडिएको पाण्डवखानी अहिलेसम्म स्तरोन्नति नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रा असहज हुने गरेको छ। स्थानीयवासीले सडकको स्तरोन्नतिको माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो छ। गत वर्षदेखि उक्त सडक एक निर्वाचन क्षेत्र, एक रणनीतिक आयोजनाका रूपमा परेको छ।

आर्थिक वर्ष २०७८/७९ मा केन्द्र सरकारले ४० करोड बजेट विनियोजन गरेको थियो। ठेक्का सम्झौता भएर गत वर्षदेखि काम शुरू भए पनि अहिले भने निर्माण कम्पनीले काम गरेको छैन। यही सडक भएर पाण्डवखानी क्षेत्रमा करिब आधा दर्जन जिप तथा पिकअप सञ्चालन हुन्छन्। सडकको दुरवस्थाका कारण स्थानीय बासिन्दा जोखिम मोलेरै यात्रा गरिरहेका छन्। 

गाउँमा सीमित सवारीसाधन चल्ने हुँदा स्थानीय जोखिम मोल्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगरले बताए। डेढ दशकअगाडि नागरिकको सुविधाका लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला निकायको ध्यान नपुगेको उनको गुनासो छ। सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने घर्ती मगर बताउँछन्। 

“यो गाउँ पालिकाको केन्द्रदेखि धेरै टाढा छ, सडक राम्रो हुन्थ्यो भने यात्रा गर्न सहज हुन्थ्यो, यतिका वर्षसम्म पनि सडकको हालत खराब छ, नगरपालिकामा सामान्य काम गर्न आउँदा पनि दिनभरि यात्रा गर्नुपर्ने स्थिति छ, जिल्ला सदरमुकाम पुगेर फर्कन त झनै कठिन छ,” घर्ती मगरले भने, “एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक भनेर योजना परे पनि प्रभावकारी रूपमा काम हुन सकेको छैन, सडक निकै अप्ठ्यारो हुँदा गाउँमा कोही बिरामी परे तत्काल अस्पताल पुर्‍याउन बढी समस्या हुने गरेको छ, एम्बुलेन्स आए पनि सडकको खाल्डाखुल्डीका कारण समयमै पुग्न पनि समस्या हुन्छ।”

स्थानीय सुरेश छन्त्यालले पाण्डवखानी तथा रमुवा क्षेत्रको मुख्य व्यापारिक केन्द्र गलकोटको हटिया र जिल्ला सदरमुकाम बागलुङ बजार भएको भन्दै सडकको स्थिति खराब हुँदा ढुवानीमा समस्या हुने गरेको बताए।

हिउँदमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा निकै समस्या हुने छन्त्यालको भनाइ छ। सडक स्तरोन्नति भएको भए उपभोक्ता महँगीको मारमा नपर्ने भन्दै अहिले ढुवानी नै महँगो तिर्नु परेको उनले बताए। गाउँमा उत्पादन हुने कृषि उपज वस्तु बजार पुर्‍याउन पनि साह्रै समस्या भएको छन्त्याल बताउँछन्। 

“दुर्गम गाउँ भए पनि धेरै वर्षअगाडि यहाँ सडक आएको थियो, सडकले हामीलाई धेरै राहत दियो तर अहिलेसम्म स्तरोन्नति हुन नसक्दा धेरै दुःख पनि पाइएको छ, हामीले सरकारलाई धेरै पटक यो सडक बनाउनका लागि माग गर्‍यौँ तर अहिलेसम्म सुनुवाइ नै भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ, सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महँगो तिर्नुपर्ने अवस्था छ, बाटो सजिलो हुन्थ्यो भने यात्रा गर्न र सामान ढुवानीमा सुविधा हुने थियो,” उनले भने।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले नगरपालिकाले दुई वर्ष अगाडिसम्म मर्मत सम्भारका काम गर्ने गरेको भन्दै अहिले एक निर्वाचन, एक रणनीतिक सडकको आयोजना सञ्चालनमा आएपछि नगरपालिकाले काम नगरेको बताए। सडकका कारण वडा नं १० का नागरिकले वर्षौंदेखि समस्या भोग्दै आएको उनको भनाइ छ। नगरपालिकाको सबैभन्दा टाढाको वडा पाण्डवखानी र रमुवा भएको हुँदा नगरपालिकाले शुरूमा प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले सडकमा कम लगानी गरेको प्रवक्ता भण्डारीले बताए।

“नगरपालिकाले शुरू–शुरूमा सडकमा लगानी गरेको थियो, जब केन्द्र सरकारले यहाँ लगानी गर्‍यो त्यसपछि नगरपालिकाबाट बजेट पर्न छोडेको छ, दोहोरो बजेटपर्ने हुँदा यो सडकमा हामीहरूले काम गरेका छैनौँ,” प्रवक्ता भण्डारीले भने, “निर्माण कम्पनीलाई काम गर्ने वातावरण मिलाई दिने र समयमै काम सक्न खबरदारी गर्ने गरिरहेका छौँ, यो बाहेक पाण्डवखानी र रमुवाका अन्य ठाउँमा भने सडक निर्माण भने गरिरहेका छौँ, सडकलाई बाह्रैमहिना सञ्चालन हुने गरी काम गरेका छौँ।”