झापाको जलथल, पृथ्वीनगर, रंगडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको वन कार्यालयले जनाएको छ।
झापा– बुद्धशान्ति–३ की कृतिका बास्तोला बिर्तामोडको कलेज जान मंगलबार बिहान सधैँ झैँ घरबाट निस्किइन्। २० मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो। आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्। बससम्म पुग्न सकिनन्।
पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो। आँगनबाट घरभित्र पसेको हात्तीले घरको पर्खाल भत्काएको थियो। हात्ती आफ्नो बाटो लागेपछि मात्र न्यौपाने परिवार घरभित्रबाट बाहिर निस्किए। गाउँभरी डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्यायो।
एक्लै लुसुलुसु आउने जंगली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको न्यौपाने बताउँछन्। गाउँका मानिस घरधन्धा, गोठको काम र विद्यार्थीका लागि सबेरै उठ्ने गर्छन्। तर बिहानीपख लुसुलुसु गाउँ छिर्ने बानी परेका हात्तीका कारण विद्यार्थीको पठनपाठनसमेत प्रभावित भएको उनले बताए।
जिल्लाका अधिकांश स्थानमा कक्षा ११ र १२ तथा स्नातक तहको कक्षा बिहान सञ्चालन हुने गरेको छ। “छोरो झिसमिसेमै साइकल चलाएर सात किलोमिटर टाढा धुलाबारीमा पढ्न जान्छ,” मेचीनगर–१५ का दुर्गाबहादुर बुढाथोकीले भने, “बाक्लो हुस्सु लागेको हुन्छ। हात्ती पनि जताततै भेटिन थालेका छन्। कलेज पठाउन पनि डरमर्दो भइसक्यो।” झापाका १५ वटै पालिका हात्ती प्रभावित भएका छन्। डिभिजन वन कार्यालय झापाले वन क्षेत्रमा हाल तीन दर्जनभन्दा बढी हात्तीले आश्रय लिइरहेको जनाएको छ। जिल्लाको सबैतिर अभिभावकहरू आफ्ना छोराछोरीलाई बिहानीपख स्कुल–कलेज पठाउन डराउन थालेका छन्।
बुद्धशान्ति–३ का सीताराम बास्तोलाले बस्तीमा दिनहुँ जंगली हात्ती पस्ने गरेको बताए। साँझ नपर्दै बस्ती पस्ने हात्तीले मानिसलाई आक्रमण गर्ने, बाली खाएर क्षति पुर्याउने र घर भत्काउने उपद्रो गर्दै आएका छन्। जंगली हात्तीबाट जीउधन जोगाउन स्थानीयवासी रातभर जागा बस्ने गरेको बास्तोलाले बताए।
अभिभावकलाई छोराछोरी हात्तीको लखेटाइमा पर्लान् कि भन्ने चिन्ता थपिएको छ। “जसोतसो रातभर जाग्राम बसेर हात्ती लखेट्छौँ,” उनले भने, “स्कुल पठाउँदासमेत चिन्ता हुन थालेको छ। अब घर र सडक कतै पनि सुरक्षित रहेन।” मंगलबार बिहान कलेज जाँदा हात्तीसँग जम्काभेट भएकी कृतिका उनकी दाजुकी छोरी हुन्। कृतिकासँगै भतिज किरण बास्तोला सडकमा कलेज बसको हर्न बज्ने बित्तिकै घरबाट निस्किएको जनाउँदै उनले भने, “चिसोका कारण बाक्लो हुस्सु लागेको थियो। उनीहरू यताउता नहेरी गाडी रहेको सडकतिर उक्लँदै थिए। एक्कासि सडकमा हात्ती आइपुग्यो।”
दुवै बिर्तामोडको निधि कलेजमा पढ्छन्। भागेर ज्यान जोगाउन सफल उनीहरू कलेज कसरी जाने भन्ने कुराले चिन्तित छन्। दिनभर स्थानीय आदर्श सामुदायिक वन क्षेत्रमा लुकेर बस्ने पाँच हात्ती साँझ पर्ने बित्तिकै एक्लाएक्लै गाउँ छिर्ने गरेको उनको भनाइ छ। दैनिकजसो गाउँ डुल्ने हात्तीका कारण बुद्धशान्तिको जंगल आसपासका बालबालिकादेखि वृद्ध वृद्धासमेत घरबाट बाहिर निस्कन डराउँछन्।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लाभर जंगली हात्तीको बिगबिगी रहेको स्वीकार गरे। उनले जलथल, पृथ्वीनगर, रंगडाँडा, हल्दिबारी, बाह्रदशी, कचनकवल, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हात्ती दिनहुँ गाउँ पस्ने गरेको बताए। विभिन्न वनमा छरिएर बसेका र हूल बाँधेर हिँड्ने हात्ती नियन्त्रण गर्न स्रोत र साधनको समस्या भइरहेको उनले बताए।
“एकैपटकमा दश ठाउँबाट हात्ती गाउँ पस्यो भनेर खबर आउँछ। कार्यालयसँग जम्मा एउटा गाडी छ। प्रहरीको सहयोग लिएर हात्ती धपाउने काम गरिरहेका छौँ,” उनले भने। झापाको जंगलमा हाल ४० वटा हात्ती रहेको अनुमान गरिएको उनले बताए।
दैनिक घर भत्किएका र बालीनाली खाइदिएको लगायतका समस्या हुने गरेको गुनासो बढ्न थालेको छ। हात्तीलाई जंगलबाट बाहिर निस्कन नदिन मेचीनगर, भद्रपुर र हल्दिबारीको जंगल वरिपरि राज्यको करोडौँ लगानीमा दर्जनौँ किलोमिटर लामो विद्युतीय घेराबेरा गरिएको छ।
स्थानीयले आफूखुशी घरलाई वरिपरिबाट विद्युत् तारले घेर्नेसमेत उपाय गर्दै आएका छन्। तर विद्युत् तार पन्छाउन अभ्यस्त भइसकेको हात्तीले मानव बस्तीलाई निशाना बनाउन नछाडेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
