चीनमा भूकम्पमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

भग्नावशेषमा मानिसहरू पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ। 

चीनको उत्तर पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ। ७८२ जना घाइते भएका छन्। 

कान्सु प्रान्त केन्द्रबिन्दु बनाएर गएको ६.२ म्याग्निच्युडको भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ। भूकम्पमा परी छिङहाइ प्रान्तमा १८ जनाको मृत्यु भएको छ। १६ जना अझै बेपत्ता छन्।

भूकम्पका कारण भवनहरू भत्किएका छन्। भग्नावशेषमा मानिसहरू पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ। 

भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको समाचार संस्था सिह्वाले जनाएको छ।